काठमाडौं । नागढुंगा-नौबिसे सुरुङ मार्ग आगामी ६ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने भए पनि गाडी गुड्न भने अझै डेढ वर्ष समय लाग्ने भएको छ । सुरूङ खनिसकिएपछि फिनसिङ गर्न झन्डै १ वर्ष समय सुरुङ मार्ग कन्सल्ट्यान्टतर्फका इन्जिनीयर रमेश कोइरालाले बताए ।
आउँदो डेढ वर्षभित्रमा गाडी चलाउन मिल्ने बनाउने गरी काम तीव्ररूपमा अघि बढाइएको कोइरलाको भनाई छ ।
सुरूङमार्ग ‘ब्रेक थ्रु’पछि लाइनिङ (प्लास्टर गर्ने काम), बत्ती जडान, टेलिफोन जडान लगायत फिनसिङका काम गर्न करिब १ वर्ष लाग्ने उनको भनाइ थियो ।
‘अहिले सुरूङ खन्ने र फिनसिङको काम एकैपटक भइरहेको छ । ‘ब्रेक थ्रु’पछि १ वर्षभित्र भित्र गाडी गुडाउने हाम्रो योजना हो,’ उनले भने ।
उनका अनुसार हालसम्म लाइनिङ (प्लास्टर गर्ने काम) करिब ४० प्रतिशत सकिएको छ भने अझै ६० प्रतिशत बाँकी छ । लाइनिङको काम सकिएपछि बिजुली बत्ती जडान, सुरक्षका आवश्यक अन्य उपकरणहरू जडान गरिने उनले बताए ।सुरूङमार्गमा राखिने सबै उपकरण तथा सामग्री जापानबाट ल्याइने उनले जानकारी दिए ।
४२ महिनाभित्र सम्पन्न गर्ने गरी २०७६ कात्तिकमा शिलान्यास गरिएको सुरूङमार्ग निर्माण कोरोना महामारीलगायत कारणले काममा ढिलाइ हुँदा निर्माण अवधि १ वर्ष थपिएको छ । सो अनुसार आगामी चैतसम्म काम सम्पन्न गर्नुपर्नेछ ।
नेपालकै पहिलो सुरूङमार्गको रूपमा रहेको यस आयोजनाको काठमाडौंतिरको पोर्टल चन्द्रागिरी नगरपालिका–१ को टुटीपाखामा रहेको छ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा छ ।
आयोजना सम्पन्न गर्न २२ अर्ब रुपैयाँ लाग्नेमा अनुमान गरिएको छ । जसमा जापान सरकारले ४० वर्षका लागि ०.०१ प्रतिशत सहुलियत ब्याजदरमा १६ अर्ब ऋण दिने र ६ अर्ब नेपाल सरकारको लगानी रहने छ ।


