काठमाडौं । क्लासीक डिजाइन र मिड साइज सेग्मेन्टमा आउने मोटरसाइकलका पारखीहरुलाई आर्थिक वर्ष २०८०÷२०८१ को बजेटले खुसी दिएको छ ।
सरकारले हिजो सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷८१ को बजेटले २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइकलमा कर घटाएसँगै मोटरसाइकलको मूल्य घट्ने भएको हो ।
सार्वजनिक भएको आर्थिक विद्येयकमा २५० सीसीदेखि ४०० सीसीसम्मका मोटरसाइलमा लाग्दै आएको सडक निर्माण दस्तुर र नेपालमा नै एसेम्वल हुने यो सेग्मेन्टका मोटरसाइकलमा अन्तःशुल्कमा छुट दिने ब्यवस्था गरेको हो ।
यो सेग्मेन्टमा लाग्दै आएको ५० हजार सडक निर्माण दस्तुलाई ३० हजार घटाएर २० हजार रुपैयाँमा बनाइएको छ । त्यस्तै अन एसेम्वल अवस्थामा नेपाल आउने र नेपालमा नै एसेम्वल हुने यो मोटरसाइकलमा ३० प्रतिशत मात्र अन्तःशुल्क लाग्ने व्यवस्था गरेको छ ।
यहि सेग्मेन्टमा आउने तयारी अवस्थाका मोटरसाइकलमा लाग्दै आएको ९० प्रतिशत अन्तःशुल्कबाट २० प्रतिशतले घटाएर ७० प्रतिशत बनाएको छ ।
यो सेग्मेन्टमा रोयल इनफिल्डका सबै मोटरसाइकल, जावा, केटीएम ३९० सिरिज, बीएमडब्लू जी ३१० ट्वीन, अपाचे आरआर ३१०, येज्दीका सबै मोटरसाइकल, होन्डा सीबी ३५० ट्वीन, बेनेली ३०२ एस, यामाहा आर ३ जस्ता मोडल बिक्री हुँदै आएका छन् ।
सरकारले छुट दिएको सडक निर्माण कर र अन्तःशुल्क छुटले कम्तीमा ७० हजार रुपैयाँ घट्ने हाम्रो अनुमान छ ।
सबै मोटरसाइकल ३५० सीसी सेग्मेन्टमा विक्री गर्ने रोयल इनफिल्डका सुरुवाती मूल्य ६ लाख ४० हजार रुपैयाँ रहेको छ । त्यस्तै जावाका सुरुवाती मूल्य ६ लाख ७३ हजार रुपैयाँ रहेको छ भने येज्दीको सुरुवाती मूल्य ९ लाख १६ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै होन्डा सीबी ३५० को ८ लाख ४८ हजार रुपैयाँ, बेनेली ३०२ एसको १० लाख ७४ हजार, केटीएम ३९० को १० लाख ८९ हजार, आरआर ३१० को ७ लाख ९९ हजार र यामाहा आर ३ को मूल्य ९ लाख २४ हजार रुपैयाँ रहेको छ ।


