काठमाडौं । विद्युतीय सवारीसाधनमा प्रतिस्पर्धा बढ्दो छ । बढ्दो प्रतिस्पर्धासँगै ग्राहकले आफ्नो छनोट अनुसारको ईभी खरिद गर्न पाउने अवस्था बजारमा सृजना भएको हो ।
दुई वर्ष अघिसम्म सप्लाईको कारण विद्युतीय कार नै नपाउने र बुकिङ गरेर महिनौं कुर्नु पर्ने अवस्था रहेकोमा अहिले सप्लाई बढेसँगै मूल्यमा पनि तिब्र प्रतिस्पर्धा सुरु भएको छ । विशेषगरी चीनमा उत्पादन हुने बीवाइडी र एमजीको बीचमा तिब्र प्रतिस्पर्धा सुरु भएको हो ।
एमजीसँग प्रतिस्पर्धा गर्न बीवाइडीले ५० किलोवाट आवरको ब्याट्रीमा एटो थ्री नेपाल ल्याएसँगै दुई ब्राण्ड बीच तिब्र प्रतिस्पर्धा सुरु भएको हो । एमजीले जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार तोकेर बिक्री सुरु गरेसँगै बीवाइडीले ५५ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर एटो-३ एड्भान्स भेरियन्टको बुकिङ खुल्ला गरेको हो ।
यी दुई एसयूभीको बीच धेरै कुरा समान पाउन सकिन्छ । एमजी जेडएसमा सिएटीएलले उत्पादन गरेको ५१ किलोवाट आवरको ब्याट्री प्रयोग भएको छ भने बीवाइडीले आफ्नै ब्लेड ब्याट्री यसमा दिएको छ । रेन्ज पनि लगभग दुबै मोडलमा समान छ । दुबैको मोटर साइज पनि समान नै पाउन सकिन्छ ।
डिजाइन र इन्टेरियरमा भने यी दुई बीच भिन्नता देखिन्छ । अन्यथा अन्य सुरक्षा फिचरमा दुबै बराबरका मोडल हुन् । जेडएस ईभी कम्बस्चनको प्लेटफर्ममा बनेको हो भने एटो थ्री प्योर इलेक्ट्रीक प्लेटफर्ममा बनेको हो ।
यस्तो छ मासिक किस्तामा फरक
बीवाइडी एटो थ्री मूल्यको हिसावले ३ लाख महंगो छ । त्यसैले स्वभाविक रुपमा एटो-३ को मासिक किस्ता धेरै हुने भयो । अहिले ईभी किन्नेलाई बैंकहरुले १३ प्रतिशत व्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् ।
कम्बस्चन इन्जिन भएका कार किन्दा मूल्यको ५० प्रतिशत रकम सुरुमा डाउन पेमेन्ट बुझाउनु पर्ने भएपनि ईभी किन्दा २० प्रतिशत मात्रै बुझाउँदा पुग्छ । एटो-३ किन्ने ग्राहकले ११ लाख १९ हजार ८०० रुपैयाँ डाउन पेमेन्ट बुझाउनु पर्छ । बाँकी रकम ७ वर्षको लागि कर्जा लिएर किन्दा मासिक ८१ हजार ५०० रुपैयाँ हारहारी किस्ता बुझाउनु पर्ने हुन्छ ।
एमजी जेडएस ईभीको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ रहेको छ । यो मूल्यको २० प्रतिशतले हुन आउने १० लाख ५९ हजार ८०० रुपैयाँ सुरुमा डाउन पेमेन्ट वापत बुझाउनु पर्छ ।
डाउन पेमेन्टपछि बाँकी ४२ लाख ३९ हजार २०० रुपैयाँ ७ वर्षको लागि कर्जा सुविधा लिँदा १३ प्रतिशत ब्याजसहित मासिक ७७ हजार १२० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।
मासिक किस्तामा लिँदा बीवाइडीभन्दा एमजी किन्नेले मासिक ४ हजार ३८० रुपैयाँ कम तिर्दा पुग्छ ।

