ईभी उत्पादनमा तात्यो टोयोटा, लग्जरी ‘क्राउन क्रसओभर’ तयार हुँदै

काठमाडौं । चिनियाँ कम्पनी र अमेरिकी उत्पादकहरु ईभीको दौडमा निकै अगाडि पुगेसँगै विश्वकै ठूलो कर निर्माता टोयोटा ईभी उत्पादनमा अग्रसर हुने भएको छ । कम्पनीले अहिले विश्वका सिमित बजारमा बिजेड फोरएक्स र बिजेड थ्रीएक्स बिक्री गर्दै आएको भएपनि त्यसको बिक्री परिणाम सकारात्मक छैन ।

कम्पनीले केही समयअघि गरेको लगानीकर्ताको वार्षिक भेलाले तत्काल नयाँ इनर्जी भेहिकल उत्पादनमा टोयोटा लाग्नु पर्ने धारणा राखेसँगै टोयोटाले तिब्र ईभी विकासको योजना बनाएको हो । कम्पनीले सन् २०३० सम्ममा वार्षिक १७ लाख ईभी बिक्री गर्ने महत्वाकांक्षी योजनासहित काम अगाडि बढाएको हो ।

यही क्रममा टोयोटा ‘क्राउन’ परिक्षण भइरहेका तस्विर सार्वजनिक भएका छन् । टोयोटाको निकै प्रिमियम मानिने क्राउन लग्जरी क्रसओभर मोडल हो । अहिले परिक्षणमा रहेको क्राउन पूर्ण इलेक्ट्रीक हुन सक्ने अनुमान गरिएको छ ।

टोयोटाले केही अगाडि क्राउनको प्रोटोटाइप पनि सार्वजनिक गरेको थियो । कम्पनीले सार्वजनिक गरेको प्रोटोटाइपमा यसलाई ईभी र हाइड्रोजन फ्यूलसेल दुबैमा आधारित रहेर ल्याउन सक्ने अनुमान गरिएको छ । अहिले सडक परिक्षणमा रहँदा पनि केहीले ईभीको कुरा गरेका छन् भने केहीले हाइड्रोजन फ्यूल सेलमा आउने कुरा गरिरहेका छन् ।

टोयोटाले आफ्नो निकै प्रिमियम मोडललाई हाइड्रोजन फ्यूलसेल वा विद्युतीय जुनमा ल्याएपनि यो न्यू इनर्जी भेहिकल हुने लगभग पक्का जस्तै छ । अमेरिका र त्यसको आसपासका क्षेत्राबाट बिक्री सुरु हुने अपेक्षा गरिएको क्राउन मोडल सन् २०२४ बाट बजारमा आउने छ ।


Back_to_top