काठमाडौं । किया सोल ईभी नेपाल आउने भएको छ । कियाको आधिकारीक बिक्रेता कन्टिनेन्टल ट्रेडिङले सोल ईभी नेपाल ल्याउन लागेको हो ।
सरकारले बजेटबाट कर वृद्धि गर्नुअघि नै नेपाल ल्याउने योजना बनेको सोल ईभी भदौमा हुने नाडा अटो शो २०२३ मा आउने अनुमान गरिएको छ । कन्टिनेन्टल ट्रेडिङले यसअघि पनि सोल ईभी ल्याएको थियो । तर, अहिलेको जस्तो हाइटेक फिचर त्यतिवेला थिएन । साथै, रेन्ज पनि निकै कम थियो ।
नेपाल आउने किया सोल ईभी हुन्डाई कोनाको जस्तै समान ३९.२ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ । सानो ब्याट्री र १०० किलोवाट क्षमताको मोटरको साथ आउने सोल ईभीले फुल चार्जमा ३०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
नयाँ सोल ईभीको अधिकतम पावर १३४ हर्स पवार र ३९५ एनएम टर्क रहेको छ । नयाँ सोल ईभीलाई सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केवल ९.९ सेकेन्ड मात्रै लाग्छ । यसको टप स्पीड क्षमता १५६ किलोमिटर प्रतिघन्टा रहेको छ ।
नयाँ सोल ईभीमा ३.३ किलोवाटको चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १८ घन्टा लाग्छ । त्यस्तै ७.२ किलोवाटको चार्जरले ६ घन्टामा फुल चार्ज गर्छ भने ८० किलोवाट क्षमताको फास्ट चार्जरले सून्यदेखि ८० प्रतिशत चार्ज गर्न ५४ मिनेट लगाउने छ ।

किया सोल ईभीमा फुल एलइडी हेडल्याम्प, १७ इन्चको अलोय ह्वील, १०.५ इन्चको टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको ओलेड कलर ड्राइभर इन्ट्रुमेन्ट क्लष्टर, रिभर्स पार्किङ क्यामेरा, अटोमेटीक एयर एसी, एडप्टीभ स्मार्ट क्रुज कन्ट्रोल लगायतका फिचर उपलब्ध रहेको छ ।
कियाको क्लासिक एसयूभीको पहिचान बनाएको सोल ईभी यूवापुस्ताले खुब मनपराउने मोडल हो । त्यसमा पनि हुन्डाई कोनामा प्रमाणित भइसकेको ब्याट्री र मोटरमा आउने भएको कारण बजारमा एउटा राम्रो विकल्पको रुपमा सोल इलेक्ट्रीक आउने छ ।
बढेको कर र विगतमा पनि सोलको मूल्यलाई आधार मान्दा यसको मूल्य ६७ लाख रुपैयाँ हाराहारी पर्ने अनुमान गर्न सकिन्छ ।


