मौद्रिक नीतिमा नाडाको ५ सुझावः जोखिमभार घटाउनेदेखि कर्जाको सिमा बढाउनेसम्म

काठमाडौं । नाडा अटोमोवाइल एशोशिएशन अफ नेपालले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटी संस्थागत सुझाव दिएको छ । नाडा ५ बुँदे सुझाव गभर्नरलाई बुझाएको हो ।
नाडाले दिएको सुझावको पहिलो बुँदामा नै अटोकर्जामा बढाइएको जोखिमभारलाई घटाएर पहिलाकै अवस्थामा ल्याउन माग गरिएको छ । नाडा अध्यक्ष ध्रुव थापाको नेतृत्वमा गएको नाडा पदाधिकारी तथा सदस्यहरुको टीमले गभर्नर अधिकारीलाई सुझाव दिएको हो ।
राष्ट्र बैंकले ल्याउने नयाँ मौद्रिक नीतिले गर्नु पर्ने मुख्य कामहरु ५ बुँदामा खुलाएर नाडाले दिएको सुझावहरु यस प्रकार छन् ।
१. बैंक तथा वित्तिय क्षेत्रमा लगानीका हिसावले नेपालको अटोमोवाइलक्षेत्र सवैभन्दा पारदर्शी तथा कम जोखिमपूर्ण रहेको छ । हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोे कारण बैंक तथा वित्तिय संस्थाहरुले तरलता आएपनि अटोमोवाइल क्षेत्रमा ऋण लगानी गर्ने अवस्था नरहेको हुँदा व्यवसायीहरुलाई ठूलो मर्का परेको छ । यही कारण सवारी साधनहरुको आयातमा समेत कमी आई सरकारको राजश्वमा समेत नकारात्मक प्रभाव पर्न गएको हुँदा जोखिमभारको व्यवस्थालाई पुरानै अर्थात् ७५ प्रतिशत नै कायम गर्न माग गरिएको छ ।
२. नेपालको अटोमोवाइल क्षेत्रलाई गतिशिल बनाउन बैंकहरुबाट निजी सवारी साधनको हायर पर्चेज लोन प्रवाह गर्ने प्रकियामा लोन टु भ्यालु रेसियो हाल ५० प्रतिशत रहेकोमा त्यसलाई बढाएर ८० प्रतिशत गर्न माग गरिएको छ ।
३. चालु पूजी कर्जा निर्देशिकामा रहेको व्यवस्था अनुसार चैत्र मसान्तसम्म साँवा र ब्याज बुझाएका व्यवसायीहरुलाई ब्याज र किस्ता बुझाउने समय थप गर्ने विषय नीतिगत ब्यवस्था हुने कुरा आएकोमा उक्त समयभित्र अर्थात् चैत्र भन्दा अगाडि नै सो सावा र ब्याज तिर्न नसकेका व्यवसायीहरुलाई समेत सो समय थप गर्ने ब्यवस्था मिलाउन भनिएको छ ।
४. दुई करोड भन्दा माथीको व्यवसायमा कूल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पूनरावलोकनका लागि माग गरिएको छ ।
५. व्यवसायीहरुले डेलिभरी अर्डर पाएर नामसारी र सवारी साधनहरुको डेलिभरी गरेपछि बैंकहरुले भुक्तानी गर्ने समयावधी तोकिनु पर्ने र यसका लागि हप्ता दिनभित्र भुक्तानी हुने व्यवस्था गरिदिन नाडाले माग गरेको छ ।


Back_to_top