नेपालमा किन्न पाइन्छ ३२ भेरियन्टका विद्युतीय कार (मूल्यसहित)

काठमाडौं । नेपालमा विद्युतीय सवारी (ईभी)को बिक्री तीव्र गतिमा बढिरहेको छ । पछिल्ला केही वर्ष यता सरकारले ईभीको प्रयोग बढाउन लिएको प्रोत्साहन नीति, कर छुट, कम्बस्चनको तुलनामा संचालन खर्च कम लगायत कारणले यसमा उपभोक्ताको आकर्षण बढेको हो ।

पेट्रोलियम पदार्थमा सरकारले लगाएको अचाक्ली कर, परनिर्भरता र कमजोर भण्डारण क्षमताको कारण आम उपभोक्ताले सधैं दुःख पाउँदै आएका छन् । बेलाबेलामा हुने अन्दोलन, हड्ताल र विगत ३५ वर्षमा भोगेको भारतका दुई नाकाबन्दीको कारण गाडी किन्न सक्ने अवस्था भएका मानिसले विद्युतीय गाडी किन्न थालेसँगै ईभीको प्रयोग व्यापक बन्दै गएको हो ।

अर्को मुख्य विषय ईभीको तुलनामा कम्बस्चन इन्जिन भएका गाडीमा ८/१० गुणासम्म बढी कर लाग्ने कारण पनि ईभी नै सस्तो महसुस ग्राहकले गर्दा बिक्री बढेको हो ।

कम्बस्चन इन्जिनको तुलनमा ईभीहरू चलाउन सजिलो, पावर र पीकअप दुबै बढी भएको कारण यसमा ग्राहकहरु झुम्मेका हुन् । अहिले पनि चल्तीका ईभी किन्न बुकिङ गरेर ग्राहकले कुर्नु पर्ने अवस्था रहेको छ ।

कुनको मूल्य कति ?

बजारमा उपलब्ध विलिङ एयर मिनी ईभी सबैभन्दा सस्तो विद्युतीय कार हो । यसको मूल्य २० लाख ९९ हजारबाट सुरू हुन्छ । त्यस्तै सबैभन्दा महंगो ईभी टेस्ला मोडल वाई हो । यसको मूल्य २ करोडभन्दा माथि पर्छ ।

विलिङ एयर मिनी दुई भेरियन्टमा उपलब्ध छ । स्टायण्डर्ड भेरियन्टको मूल्य २० लाख ९९ हजार छ भने लङ रेन्ज भेरियन्टको मूल्य ३० लाख ९९ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, हेनरी मिनी ईभी पनि नेपालमा बिक्री हुँदै आएको छ । यसको मूल्य २३ लाख ५० हजार रुपैयाँ निर्धारण भएर बिक्री भइरहेको छ ।

मूल्यको हिसाबले टाटा टिगोर अर्को कम मूल्यमा पाइने विद्युतीय कार हो । यसलाई सिप्रदी ट्रेडिङले विभिन्न ४ भेरियन्टमा उपलब्ध गराउँदै आएको छ ।

टिगोर ईभीको एक्सई भेरियन्टको मूल्य २९ लाख ९९ हजार, एक्सएम भेरियन्टको मूल्य ३१ लाख ४९ हजार, एक्सजेड प्लस भेरियन्टको मूल्य ३२ लाख ९९ हजार र टप भेरियन्ट एक्सजेड प्लस ड्यूलटोनको मूल्य ३३ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

सिट्रोनले पनि नेपालमा सीथ्री इलेक्ट्रीकको बुकिङ खुला गरिसकेको छ । कम्पनीले सीथ्री इलेक्ट्रीको मूल्य ३२ लाख ९९ हजार र ३४ लाख ९९ हजार तोकेर दुई भेरियन्टको बुकिङ लिइरहेको हो ।

त्यसैगरी, सीजी मोटर्सले बिक्री गर्दै आएको नेटा भी पनि नेपालमा सफल मोडल मानिन्छ । कम्पनीले नेटा भीको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ ।

टाटा मोटर्सकै सफल एसयूभी नेक्सन ईभी प्राइम विभिन्न ५ भेरियन्टमा उपलब्ध छ । यसको रेगुलर भर्सन ३ भेरियन्टमा र डार्क एडिसन २ भेरियन्टमा उपलब्ध छ । नेक्सन प्राइम एक्सएम भेरियन्टको मूल्य ४१ लाख ४९ हजार, एक्सजेड भेरियन्ट मूल्य ४२ लाख ९९ हजार र एक्सजेड प्लस लग्जरी भेरियन्टको मूल्य ४४ लाख ४९ हजार रुपैयाँ रहेको छ ।

नेक्सन ईभी डार्क एडिसन एक्सजेड प्लस भेरियन्टको मूल्य ४४ लाख ४९ हजार रुपैयाँ र एक्सजेड लग्जरी प्लस भेरियन्टको ४६ लाख ४९ हजार रुपैयाँ रहेको छ । कम्पनीले बिक्री गर्ने लङ रेन्ज मोडल ‘नेक्सन म्याक्सको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

एमजीले नेपालको ईभी बजारलाई नयाँ उचाइमा लग्यो भन्दा फरक पर्दैन । हुन्डाई कोनाले सुरूआती दिनमा तयार पारेको ईभी क्रेजलाई एमजीले रफ्तार दिएको हो । एमजी जेडएस ईभीको दुई भेरियन्ट अहिले नेपालमा बिक्री हुँदै आएको छ ।

पारामाउन्ट मोटर्सले जेडएस ईभीको स्टायडर्ड रेन्ज मोडलको मूल्य ५२ लाख ९९ हजार र लङ रेन्ज मोडलको मूल्य ७१ लाख ९९ हजार तोकेर बिक्री गर्दै आएको छ ।

बीवाइडी एटो-३ नेपालमा अहिलेको हटकेक ईभी हो । साइमेक्स इंकले यसको स्टायडर्ड रेन्ज मोडलको मूल्य ५५ लाख ९९ हजार तोकेर बुकिङ लिइरहेको छ । यसको १०० किलोवाट लङ रेन्ज मोडलको मूल्य ६५ लाख ८८ हजार, ग्रिन कलर भर्सनको ६६ लाख ८८ हजार र टप १५० किलोवाट क्षमताको मोटर भएको भर्सनको मूल्य ८१ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

बीवाइडीले नै बिक्री गर्ने ई-सिक्सको मूल्य ५९ लाख रुपैयाँ रहेको छ ।

निसान लिफ पनि पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको छ । यसको मूल्य ६४ लाख ९९ हजार रुपैयाँ रहेको छ । जापानी ब्राण्डको लिफ ईभी लामो समयसम्म सर्वाधिक बिक्री भएको ईभी मोडल हो । यसलाई निसानले सन् २०१० बाट उत्पादन गर्दै आएको छ ।

हुन्डाईले नेपालमा कोना र आयोनिक ५ ईभी बिक्री गर्दै आएको छ । लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले कोना ईभीको एनएस भेरियन्टको मूल्य ६० लाख ९६ हजार, जीएल भेरियन्टको ६१ लाख ९६ हजार र जीएलएस भेरियन्टको ६४ लाख ९६ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

हुन्डाईको प्रिमियम क्रसओभर एसयूभी आयोनीक ५ को मूल्य भने १ करोड २ लाख ९६ हजार रुपैयाँ रहेको छ ।

नेपालमा बिक्री हुने सबैभन्दा प्रिमियम इलेक्ट्रीक कार टेस्ला हो । अरेटी इन्टरनेशनलले नेपाल ल्याएर बिक्री गर्दै आएको टेस्ला मोडल ३ को मूल्य १ करोड २५ लाख, रियर ह्वील ड्राइभ मोडल वाईको मूल्य १ करोड ८५ लाख र अलह्वील ड्राइभको मूल्य २ करोड रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

 


Back_to_top