५ भेरियन्टमा आयो हुन्डाई एक्सटर, मूल्य ६ लाख भारतीय रुपैयाँबाट सुरु

काठमाडौं । कोरियन कार निर्माता कम्पनी हुन्डाईले आफ्नो पहिलो माइक्रो एसयूभी एक्सटर आज भारतमा सार्वजनिक गरेको छ । भारतीय बजारमा बिक्री सुरु भएको केही महिनापछि नेपाल आउने भएको कारण यसमा धेरैले चासो राख्नु स्वभाविक हो ।

हुन्डाईले माइक्रो एसयूभी सेग्मेन्टमा ल्याएको एक्सटर बिभिन्न ५ भेरियन्टमा सार्वजनिक भएको हो । कम्पनीले यसको इन्ट्री भेरियन्ट एक्सटर ई, त्यसमाथि एस, एसएक्स, एसएक्स (ओ) र एसएक्स (ओ) कनेक्ट भेरियन्टमा ल्याएको छ ।

कम्पनीले भारतमा ई भेरियन्टको ६ लाख, एस भेरियन्टको ७ लाख २७ हजार, एसएक्सको ८ लाख, एसएक्स (ओ)को ८ लाख ६४ हजार र टप भेरियन्ट एसएक्स (ओ) कनेक्टको मूल्य ९ लाख ३२ हजार भारतीय रुपैयाँ तोकिएको हो ।

हुन्डाई एक्सटरको साइजको बिषयमा यसअघि कम्पनीले कुनै जानकारी दिएको थिएन । यसको लम्बाई ३८१५ एमएम, चौडाई १७१० एमएम र उचाई १६३१ एमएम रहेको छ । यसमा २४५० एमएमको ह्वीलवेस र १८५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

विभिन्न ६ कलर अप्सनमा पाउन सकिने एक्सटर हुन्डाई ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा बनेको हो । कम्पनीले यसमा ४.२ इन्चको एमआईडी डिजिटल क्लष्टर दिएको छ । यसमा रियल टाइम फ्यूल इफिसीयन्सी र ट्रिप प्यारामिटरको रिडिङ पनि रहेको छ । हुन्डाईले एस्टरको इन्ट्रुमेन्ट क्लस्टरमा स्थानीय भाषामा अंक र अक्षर आउने समेत फिचर दिएको देखिन्छ ।

यसका अलावा एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रि, ड्यास क्याम जस्ता फिचरहरु दिएर फुल्ली डोडेड एसयूभी बनाएको छ ।

निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । यसले अधिकतम ८३ पीएस पावर र ११४ एनएम टर्क प्रदान गर्छ । कम्पनीले यसलाई ५ स्पीड म्याुअल र ५ स्पीड एएमटी गियरबक्समा ल्याएको छ ।

अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइटले यसलाई युवा लक्षित मोर्डन एसयूभी बनाएको छ ।


Back_to_top