काठमाडौं । मारुती सुजुकी जिम्नीको मूल्य सार्वजनिक भएको छ । कम्पनीले दुई भेरियन्टमा जिम्नी नेपाल ल्याएको हो ।
मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले आफ्नो ‘लाइफ स्टाइल प्रोडक्ट’ जिम्नीको सुरुवाती भेरियन्ट जेटाको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । त्यसैगरी यसको टप भेरियन्ट अल्फाको मूल्य ६४ लाख ४९ हजार रुपैयाँ तोकिएको हो ।
यसअघि जापानबाट आयात गरेर केही यूनिट जिम्नी बिक्री गरेको सिजीले अब भने भारतमा उत्पादन भएको जिम्नीको बुकिङ खुल्ला गरेको हो ।
जापानबाट आयात भएको जिम्नीमा तीन ढोका मात्रै थियो । अहिले बुकिङ खुल्ला भएको जिम्नी ५ ढोका भएको मोडल हो । अफरोडमा निकै चर्चा कमाएको जिम्नी निकै आकर्षक डिजाइनमा तयार भएको छ ।
जिम्नीमा १.५ लिटर नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १०५ पीएस पावर र १३४ एनएम टर्क प्रदान गर्छ । यसमा फोर स्पीड टर्क कन्भर्टर अटोमेटीक र फाइभ स्पीड म्यानुअल गियरबक्स दिइएको छ । भारतीय रिसर्च एजेन्सी एआरएआईले प्रतिलिटर १६.३९ किलोमिटर माइलेज दिने प्रमाणित गरेको छ ।
यो एसयूभीमा ९ इन्चको टचस्क्रिन स्मार्टप्ले प्रो प्लस इन्फोटेन्मेन्ट सिस्टम, ६ वटा एयर ब्याग, इएसपी, हिल होल्ड असिस्ट लगायत फिचर्स पाउन सकिन्छ ।

