काठमाडौं । मारुती सुजुकीको आधिकारीक बिक्रेता सिजी मोटोकर्पले फ्रङ्क्सको मूल्य सार्वजनिक गरेको छ । कम्पनीले तीन भेरियन्टमा उपलब्ध गराउने भन्दै मूल्य सार्वजनिक गरेको हो ।
सिजी मोटोकर्पले यसअघि नै श्रावण ८ गते मूल्य सार्वजनिक गर्ने बताएको थियो । कम्पनीले सिग्मा, डेल्टा र डेल्टा प्लस भेरियन्टको मूल्य घोषणा गरेको हो । अहिले बुकिङ लिइरहेको फ्रङ्क्सको सिग्मा भेरियन्टको मूल्य ३९ लाख ९९ हजार, डेल्टा भेरियन्टको ४१ लाख ९९ हजार र डेल्टा प्लस भेरियन्टको ४२ लाख ९९ हजार तोकिएको छ ।
फ्रङ्क्स क्रसओभर मोडल हो । यसको १.२ लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन दिइएको छ । कम्पनीले १.० लिटर इन्जिन भएको फ्रङ्क्स भने नेपाल नल्याउने भएको हो ।
सिजीले फ्रङ्क्सको सबै भेरियन्टको मूल्य ब्रेजाभन्दा कम कायम गरेको छ । ब्रेजाको सुरुवाती मूल्य ४४ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

फ्रङ्क्स क्रसओभरमा अटोमेटिक क्लाइमेट कन्ट्रोल, की-लेस एन्ट्री एन्ड गो, फ्याब्रिक सिट अपहोल्स्ट्री, पावर विन्डोज, स्टेयरिङका लागि टिल्ट एडजस्टमेन्ट, डुअल टोन इन्टेरियर पाउन सकिन्छ ।
त्यसैगरी, हिल होल्ड असिस्ट, रिभर्स पार्किङ सेन्सर, इलेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम, रियर डिफोगर, ह्वील कभरसहितको स्टिल ह्वील र हलोजन प्रोजेक्टर हेडल्याम्प दिइएको छ ।

