काठमाडौं । ट्राइम्फ ४०० सार्वजनिक भएसँगै मोटरसाइकल बजारमा तरंग आएको छ । बजाज र ट्राइम्फको सहकार्यमा भारतमा उत्पादन भएको ट्राइम्फको लाइनअपमा नै सबैभन्दा सस्तो मोटरसाइकलको चर्चा चुलिएको हो ।
कम्पनीले ट्राइम्फ स्पीड ४०० भारतमा सार्वजनिक गरेर बुकिङ्ग लिन सुरु गरिसकेको छ । चाँडै नै स्क्रयाम्वलर मोडलसमेत सार्वजनिक गर्दैछ । ट्राइम्फ छोटो समयमा नै १० हजार यूनिट बुकिङ्ग लिन सफल भएको हो ।
योसँगै बजाजले ट्राइम्फ ४०० प्लेटफर्ममा अन्य मोटरसाइकल ल्याउने चर्चा सुरु भएको छ । ट्राइम्फ स्पीडको सार्वजनिक गर्ने कार्यकममा नै कम्पनीले ४०० सीसी सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउन सक्ने संकेत गरेको थियो ।
बजाजले ट्राइम्फ टाइगर ४०० ल्याउने अनुमान गर्न सकिन्छ । ट्राइम्फ टाइगर एड्भेन्चर सिरिज हो । यो सेग्मेन्टमा केटीएम ३९०, येज्दी एड्भेन्चर र रोयल इनफिल्ड हिमालयनसँग टाइगर ४००ले सिधा प्रतिस्पर्धा गर्नेछ ।
यसैबीच ट्राइम्फ टाइगर ४०० को अवधारण स्केच अनलाईनमा छाएको छ । यसरी तयार पारिएको तस्बिरलाई अटोमोवाइल बजारमा रेन्डर इमेज भनेर चिनिन्छ । यसले सम्भावीत आउन सक्ने डिजाइनलाई प्रेरित गर्छ ।
अनलाइनमा छाएको उक्त रेन्डर इमेजले टाइगर ४०० रोमान्चक साहसिक एड्भेन्चर मोडलको रुपमा प्रस्तुत गरेको छ । यसलाई ट्राइम्फ टाइगर ९०० एड्भेन्चर स्पोर्टससँग मिल्दोजुल्दो डिजाइनमा तयार पारिएको हो ।
यसको फेन्डर, भाइजर, सानो फियरिङ, इन्धन ट्याङ्क जस्ता अन्य धेरै कम्पोनेन्ट टाइगर ९०० बाट प्रेरित देखिन्छ ।
हालसम्म बजाज–ट्राइम्फका तर्फबाट यसको बारेमा कुनै पनि आधिकारिक जानकारी बाहिर आएको छैन । भविष्यमा कम्पनीले टाइगर ४०० ल्याउने हो भने यसले पक्कैपनी एड्भेन्चर सेग्मेन्टमा नयाँ बहस सृजना गर्नेछ ।


