काठमाडौं । रोयल इनफिल्ड हन्टरले २ लाख यूनिटको माइलस्टोन पूरा गरेको छ । सार्वजनिक भएको ११ महिना नपुग्दै हन्टर ३५० मोटरसाइकल २ लाख यूनीट बिक्री गर्न सफल भएको हो ।
कम्पनीले सार्वजनिक गरेको पहिलो ६ महिनामै १ लाख यूनिट मोटरसाइकल बिक्री गर्न सफल भएको थियो भने यसको माग बढेर पछिल्लो ५ महिनामै अर्को १ लाख यूनिट बिक्री गर्न सफल भएको हो ।
चेन्नई बेस प्रिमियम मोटरसाइकल निर्माता कम्पनी रोयल इनफिल्ड मासिक २० हजार यूनिट हाराहारीमा हन्टर बिक्री गरेको हो । हन्टर ३५० तीन भेरियन्टमा भारतीय बजारमा बिक्री भइरहेको छ । जसमा हन्टर रेट्रो, हन्टर मेट्रोर र हन्टर मेट्रो रेवेल रहेको छ ।
हन्टर रेट्रो यसको बेस भेरियन्ट रहेको छ भने यसको फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक रहेको छ । बेस भेरियन्टमा बेसिक इन्स्ट्रुमेन्ट क्लस्टर रहेको छ । यसका अन्य भेरियन्टमा भने डबल डिस्क ब्रेक तथा कनेक्टेड फिचरसहितको कन्सोलका साथै डबल च्यान एबीएस उपलब्ध छ । बेस भेरियन्टमा भने सिंगल च्यानल एबीएस पाउन सकिन्छ ।
हन्टर ३५० जे सिरिजको इन्जिन दिइएको छ । यसमा ३४९ सीसीको सिंगल सिलिण्डर फ्यूल इन्जेक्ट एसओएचसी एयर एण्ड आयल कुल्ड सिस्टम रहेको छ । यो इन्जिनले ६१०० आरपीएममा अधिकतम २०.२ हर्सपावर र ४००० आरपीएममा अधिकतम २७ न्यूटन मिटर टर्क जेनेरेट गर्छ । इन्जिनसँग ५ स्पीडको गियरबक्स उपलब्ध छ ।
नेपालमा कहिले ?
अल्फा अटोमोबाइल्सले भदौमा हुने नाडा अटो शो २०२३ मा हन्टर सार्वजनिक गर्ने तयारी गरिरहेको छ । कम्पनीले क्लासिक ३५० भन्दा कम मूल्यमा हन्टर ३५० सार्वजनिक गर्ने बताइएको छ । अल्फाले ५ लाख रुपैयाँमै क्लासिक ३५० सार्वजनिक गरेर राम्रो व्यापार गर्दै आएको छ । कम्पनीले हन्टर ५ लाखभन्दा कम मूल्यमै ल्याउने अनुमान गर्न सकिन्छ ।
हालसम्म कम्पनीले हन्टर कहिले सार्वजनिक हुन्छ भनेर आधिकरिक जानकारी भने बाहिर ल्याएको छैन् । आक्रमक बजार विस्तारमा लागेको अल्फा अटोमोबाइल्सले भारतमा निकै चर्चित मोटरसाइकल हन्टर ३५० चाँडै नेपाल ल्याउने अनुमान गर्न सकिन्छ ।


