काठमाडौं । हुन्डाई आई–१० को सफलता नेपाली बजारमा सायद कुनै मोडलले भेट्टाउन सक्ला । भारतमा उत्पादन सुरु भएसँगै त्यहाँ नै प्रिमियम कार निर्माताको चिनारी दिने आई १० नेपालको नयाँ र रिकन्डिसन दुबै बजारमा चर्चित मोडल हो ।
भारतमा सेन्ट्रो सफलतासँगै हौसिएको हुन्डाईले सान्ट्रोको बिरासत जोगान ल्याएको आई १० सेन्ट्रोको तुलनामा पावरफुल इन्जिनमा थियो । यसलाई सुरुमै कम्पनीले १.२ लिटर कप्पा इन्जिनमा ल्याएको थियो ।
सन् २००७ बाट बिक्री सुरु भएको हुन्डाई आई १० सिटी ड्राइभको लागि आएको थियो । फराकिलो क्यावीन स्पेश र आरामदायी यात्राको लागि उत्कृष्ट मानिएपछि यसलाई चाहनेहरु बढ्दै गए ।
त्यतिवेला सेग्मेन्टमै लामो २३८० एमएमको ह्वीलवेस भएको कारण यसको क्याविन फराकिलो थियो । त्यसले नै आई १० लाई उत्कृष्ट फ्यामली कार सावित गरेको थियो ।
त्यतिबेला सबैको ध्यान डिजाइन र स्पेश मात्रै थियो । हुन्डाईले सुरक्षाको लागि भन्दै एयरव्याग, इबीडीसहितको एबीएस ब्रकिङ सिस्टम, पावर विण्डो, एयर कन्डिसन, सिडी प्लेयर जस्ता फिचर दिएको कारण धेरैलाई लोभ्याउन सफल बन्यो ।

सुरुवाती चरणमा १.१ लिटर आइआरडीई र १.२ लिटर कप्पा इन्जिनमा आएको थियो । तर, यसको १.२ लिटर इन्जिन सेग्मेन्ट कै वेस्ट सावित भयो । यसमा ५ स्पीड म्यानुअल र ४ स्पीड अटोमेटीक गियरबक्समा उपलब्ध थियो ।
बिक्री सुरु भएको दोस्रो वर्षमै ‘आइकोटी कार अफ दी एयर २००८’को अवार्ड पाएको आई १० लाई बलिउड नायक साहरुख खानले ब्राण्ड एम्वेस्डर बनेर प्रचार प्रसार गरेका थिए ।
२०१० को फेसलिफ्ट
हुन्डाइले आई १०को पहिलो फेसलिफ्ट सन् २०१० मा फ्लुडिक डिजाइन सहित लन्च गरेको थियो । फेसलिफ्ट आई १० स्लीकर र स्टाइलीस देखिएको थियो ।

यसमा प्रयोग भएको सोलिड लाइन तथा अप्टीमम कर्भहरुले सबैभन्दा स्टाइलीस ह्याचब्याक बनाएको थियो । त्यति बेला आई १० मा फ्रन्ट ग्रिल र एयर ड्यामलाई इन्ट्रीगेटेड रुपम दिएर ‘सिंगल हेग्जागनल फेसिया’ बनाएको थियो ।
फेसलिफ्ट मोडलबाटै आई १०को इन्जिनमा भेराइवल टाइमीङ ट्रेन (भीटीभीटी) टेक्नलोजीको सुरुवात गरेको थियो ।
२०१४ सेकेन्ड जेनेरेशन
हुन्डाईले सेकेन्ड जेनेरेशन आई १०मा क्यावीन स्पेश बढाउन चौडाई ५५ एमएम र ह्वीलबेस ४५ एमएमले बढाएको थियो । आई १० को ड्राइभिङ डाइनामिक्स सुधार गर्नका लागि कम्पनीले २० एमएम लम्बाई तथा ३० एमएम उचाई भने घटाएको थियो ।
कम्पनीले साइजमा हेरफेर गरेसँगै यसको नामको पछाडि ग्राण्ड थपेको थियो । सुरुमा आई १० नाम भएको मोडललाई ‘ग्राण्ड आई १०’ भन्न थालियो । यसमा एयरब्याग, एबीएस, पावर विन्डो, पावर स्टेरिङ, इलेक्ट्रीक ओआरभीएम, पार्किङ असिस्ट, किलेस इन्ट्री, स्टार्ट स्टप बटम जस्ता फिचर थिए ।

सेकेन्ड जेनेरेशन हुन्डाई ग्राण्ड आई १०ले युरो एनक्यावले गर्ने क्रयास टेस्टमा ४ स्टार रेटिङ पाएको थियो । यही जेनेरेशनबाट हुन्डाईले पहिलो पटक आई १० मा १.१ लिटर, युटु सीआरडीआई डिजेल इन्जिन समेत सुरु गरेको थियो । यसको फेसलिफ्ट भने २०१७ मा भएको थियो ।
२०२० तेस्रो जेनेरेशन ग्राण्ड आई १० नियोस
तेस्रो जेनेरेशनमा आइपुग्दा ग्राण्ड आई १० को नाम पछाडि नियोस थपियो । बीएस ६ प्रदुषण मापदण्डको १.२ लिटर कप्पा इन्जिन यसमा रहेको थियो । नयाँ फेसिया डिजाइन, एलइडी डीआरएल, ५.३ इन्चको एमआइडी डिस्प्ले, एप्पल कार प्ले तथा एन्ड्रोइड अटो सहितको ८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिइएको थियो ।

त्यसैगरी, अलोय ह्विल, अटोमेटिक एसी, मल्टि फङसनल स्टेरिङ ह्वील, रियर एसी भेन्ट, रियर पार्किङ क्यामरा र सेन्सर, क्रुज कन्ट्रोल, कुल्ड ग्लोबवक्स, लेदरर्याप स्टेरिङ ह्वील, रियर डिफोगर, भोइस कमाण्ड जस्ता आधुनिक फिचर समेटियो ।
लन्च भएको डेड दशकसम्म पनि हुन्डाई आई १० एक उत्कृष्ट ह्याचव्याक कारको रुपमा पहिलो च्वाइस बन्दै आएको छ । पहिलो कार किन्न चाहने ग्राहकको पहिलो रोजाइ ग्राण्ड आई १० नियोस बन्न सफल रहेको छ ।

फेसलिफ्ट २०२२
नियोसको फेसलिफ्ट अहिले बजारमा बिक्री हुँदै आएको छ । ह्याचव्याक सेग्मेन्टलाई अहिले पनि चलायमान बनाई रहेको नियोस नेपालमा बिक्री हुँदै आएको सफल मोडल हो ।
सेकेन्ड ह्याण्ड कार किन्न चाहनेको समेत पहिलो रोजाइमा आई १० नै पर्दै आएको छ । यसले आई १० को कम्फर्ट र रिलायबीलीटीमा शंका गर्ने ठाँउनै दिएको छैन ।


