साझा बसको दशैं अफरः बस चढ्नुस्, रिचार्ज कार्ड जित्नुस्

काठमाडौं । दशैंलाई मध्यनजर गर्दै साझा यातायातले २० वटा डिलक्स बस थपेको छ । यात्रुलाई आकर्षक अफरसहित साझाले दशैंका यात्रु ओसार्न २० वटा नयाँ बस थपेको हो ।

साझाले दशैं–तिहारको उपलक्ष्यमा हरेक दिन ५ यात्रुलाई ५ सयको दरले रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । काठमाडौंमा चल्ने बसमा टिकट लिएका यात्रुमध्ये हरेक दिन लक्की ड्रमार्फत ५ विजेता छनौट गरिने साझाले जनाएको छ ।

साझाका यी डिलक्स बसहरुले भोलि मंगलबारदेखि यात्रु बोक्ने भएका छन् । मंगलबारबाट दैनिक २ डिलक्स बसले काठमाडौंदेखि बागलुङ र काठमाडौंदेखि सुनौलीसम्म रात्रिकालीन सेवा दिने भएका छन् । दुई वटा बस काठमाडौं बाहिर जाँदा दुई बस भित्रिने गरी समय व्यवस्थापन गरिएको छ । अहिले साझाका ४ डिलक्स बसले यात्रुलाई सुविधा दिइरहेका छन् ।

यी बसहरुमा काठमाडौंबाट बुटवलका लागि ६२० रुपैयाँ, भैरहवाका लागि ६७० तथा सुनौलीका लागि ६८० रुपैयाँ भाडादर तय गरिएको छ ।

सो बसहरुमा बागलुङका लागि ७३० रुपैयाँ तथा कुश्माका लागि ६६५ रुपैयाँ भाडादर तय गरिएको छ । यात्रुहरुका लागि अग्रिम टिकट भने २१ गतेदेखि मात्रै खुल्ने छ । 

यी नयाँ डिलक्स बसहरुमा चालकसहित ४० सिट क्षमता रहेको छ । रात्रिकालीन यात्रालाई मध्यनजर गर्दै बसमा फोल्डिङ सिट, भिडियो प्लेयर तथा निशुल्क वाइफाई र मोबाइल चार्जको सुविधा रहेको छ ।


Back_to_top