काठमाडौं । कम्प्याक्ट एसयूभी सेग्मेन्ट नेपालमा धेरै बिक्री हुने मध्येको एक सेग्मेन्टमा पर्छ । यहि सेग्मेन्टमा मित्सुवीसीले नयाँ एसयूभी ‘एक्सफोर्स’ सार्वजनिक गरेको हो ।
जापनीज अटोमोवाइल कम्पनी मित्सुबीसी इन्डोनेशियामा भएको ‘इन्टरनेशनल अटो शो २०२३’मा एक्सफोर्स प्रदर्शनी गरेको हो । एक्सफोर्सको लम्बाई ४.३ मिटर रहेको छ ।
मित्सुवीसी एक्सफोर्स नेपाल आउने हो भने यसको सेग्मेन्टमा एमजी जेडएस ईभी, बीवाइडी एटो–३, हुन्डाई क्रेटा, किया सेल्टोस, सुजुकी ग्राण्ड भिटारा, स्कोडा कुशक, फक्सवागेन टाइगुन र एमजी एस्टर जस्ता मोडलसँग सिधा प्रतिस्पर्धा गर्नु पर्ने हुन्छ ।
कम्पनीले साउथ एसिया बजारमा पनि बिक्री गर्ने योजना बनाएको कारण यो एसयूभी नेपाल आउन सक्नेछ । साथै, ल्याटीन अमेरिका, मिडिलइस्ट र अफ्रिकी बजारलाई ध्यानमा राखेर यसको उत्पादन गरिएको कम्पनीले जनाएको छ ।
मित्सुवीसीको ‘डाइनामीक सिल्ड डिजाइन ल्याङ्वेज’मा बनेको एक्सफोर्सको फ्रन्ट फेसिया निकै आकर्षक रहेको छ । यसमा नयाँ टी सेपको एलइडी डीआरएल लाइट र होरिजेन्टल पोजीसनमा स्लीक एलइडी हेडलाइट दिइएको छ ।

कम्पनीले यसमा १८ इन्चको अलोय ह्वील र एक्सएफसी कन्सेप्टमा आधारित सिग्नेचर टेल लाइट दिएको छ । एक्सफोर्स एसयूभीमा २१ डिग्री अप्रोच एङ्गल र ३५ डिग्री डिपार्चर एङ्गलसहित २२२ एमएमको ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
क्यावीनमा १२.३ इन्चको इन्फोटेन्मेन्ट डिस्प्ले र ८ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लष्टर कनेक्टेड सेपमा रहेको छ । डिउल जोन क्लाइमेट कन्ट्रोल रहेको एसयूभीमा आठ वटा स्पीकर सहितको यामाहाको प्रिमियम डाइनामीक साउण्ड सिस्टम पाउन सकिन्छ ।
एक्सफोर्समा १.५ लिटर क्षमताको फोर सिलिण्डर, पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले १०३ ब्रेकहर्स पावर र १४१ न्यूटन मिटर टर्क प्रदान गर्छ । यो एसयूभीमा सीभीटी गियरबक्स रहेको छ । यो एसयूभीमा नर्मल, ग्राभेल, मड तथा वेट गरी ४ फरक ड्राइभिङ मोड दिइएको छ ।
एक्सफोर्सको लम्बाई ४३९० एमएम, १८१० एमएम चौडाई, १६६० एमएम उचाई र २६५० एमएमको ह्वीलवेस रहेको छ ।

