काठमाडौं । सफलता सबैले पाउँछन् भन्ने हुँदैन । तर, मिहिनेत सबैले गरेकै हुन्छन् । नेपालमा सबैभन्दा पहिला ठूलो साइजको ईभी ल्याएर पनि सफलताको स्वाद चाख्न ५ वर्षभन्दा धेरै समय बीवाइडीले कुरेको थियो ।
बीवाइडीको सफलतासँगै अन्य चिनियाँ ब्राण्डले उत्पादन गरेका ईभी नेपाल आउने क्रम बढ्दो छ । अहिले विलिङ, ग्रेटवाल जस्ता चिनियाँ ब्राण्डका ईभी नेपालमा बिक्री हुँदै आएका छन् । त्यसबाहेक सेरेस ईभी पनि चाँडै बिक्री सुरु हुँदैछ ।
नेपाली बजारमा चेरी, जीएसी, एनआईओ, चांगन, जिली लगायतका ब्राण्डले उत्पादन गरेका ईभी पनि चाँडै आउँदै छन् । माथि उल्लेख भएका ब्राण्ड मध्ये केही ब्राण्डले नेपालमा आधिकारीक बिक्रेता नियुक्त गरिसकेका छन् भने केही ब्राण्डको अन्तिम तयारी भइरहेको छ । चेरी र चांगनका पेट्रोलबाट चल्ने गाडी अहिले पनि बजारमा बिक्री हुँदै आएका छन् ।
‘अहिले नेपालका ब्यवसायीको काम नै चीनमा हुने अटो शो घुम्ने र नयाँ गाडी ल्याउन सम्झौंता गर्ने सिरिज चलेको छ । यदि कमजोर प्रोडक्ट आएभने मानिसले गाडी किन्न गर्ने लगानी नराम्रोसँग डुब्ने अवस्था आउन सक्छ’, एक गाडी बिक्रेताले भने ।
ती ब्यवसायीका अनुसार प्रोडक्टको गुणस्तर, यहाँ उसको बिक्री, सर्भिस र स्पेयर पार्टसको लागि तयारी केही भएको छैन । उहाँ यति सय गाडी किन्छु भनेर कमिटमेन्ट गर्नेहरु पनि छन् । यसले नेपालीकै रकम बर्वाद हुने अवस्था आउने देखिन्छ ।
बीवाइडीको सफलता
बीवाइडीले नेपाल ल्याएको ई६ मोडल योजना आयोगदेखि राष्ट्रपतिको सवारीमा समेत सामेल भएसँगै यसको चर्चा देशभर सुरु भयो । सरकारी कार्यालयमा गाडी बिक्री गर्दा तल्लो तहसम्म सन्देश लान सहज हुने भएको कारण कम्पनीले फरक रणनीति बनाएको थियो ।

‘हाम्रो गाडी राम्रो पर्फमेन्स गर्न सक्नेछ भन्ने विश्वास थियो । त्यसैले सरकारी संयन्त्रमा बिक्री गर्ने र त्यसको सन्देश नागरिक तहमा लाने योजना अनुसार काम गरेका थियौं । केही परिमाणमा देखिनेगरी बिक्री भने सन् २०२० बाट गरेका थियौं’, बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले भनिन् ।
विगतमा आफुहरुले गरेको मिहिनेत सम्झदै श्रेष्ठ भन्छिन्, ‘गाडीभन्दा पहिलादेखि नै बीवाइडीको ब्याट्री, सोलार जस्ता प्रोडक्ट ल्याएर बिक्री गर्दै आएका थियौं । करिब १५ वर्षको मिहिनेतले कार ब्राण्डले राम्रो गरेको हो । त्यो नेपालमा मात्रै भएको होइन । विश्वब्यापी रुपमा बीवाइडी खोज्ने बढेका हुन् ।’
सुरुमा गरेको मिहिनेत र अहिले आएको नयाँ प्रोडक्टले बीवाइडीको पहिचान फेरिएको छ । त्यसमा पनि एटो ३ ले अलग स्थान बनाएको छ । स्पोर्टी एसयूभी नेपालमा तीन फरक भेरियन्टमा उपलब्ध छन् । मूल्यको हिसावले ५५ लाख ९९ हजारदेखि ८१ लाख ९९ हजारसम्म रहेको एटो ३ किन्न चाहने धेरै मानिस छन् । धेरैले यसलाई आफ्नो ड्रिम कार पनि भनेको सुनिन्छ ।
बीवाइडी सफल हुनुमा उसको ब्याट्री ब्लेड टेक्नोलोजीमा हुनुलाई पनि मानिन्छ । कम्पनीले ईभीको लागि चाहिने अधिकांश मुख्य कम्पोनेन्टहरु आफैँ उत्पादन समेत गर्ने हुँदा ग्राहक पनि ढुक्क देखिन्छन् ।
अब कम्पनीले डल्फीन मोडल बिक्री सुरु गर्दैछ । डल्फीन बीवाइडीको प्रिमियम ह्याचव्याक हो । यसले बजारमा कस्तो ब्यापार गर्छ त्यो हेर्न भने बाँकी नै छ । तर, यो पक्का छ विश्वकै ठूलो न्यू इनर्जी भेहिकल उत्पादकले ल्याएका विद्युतीय गाडीले नेपालमा अलग पहिचान र चर्चा कमाउने छन् ।
बीवाइडीको सफलताबाट हौसिएर नेपाल आउन लागेका चिनियाँ ब्राण्डको फरक अस्तित्व कसरी बन्नेछ, त्यो हेर्न भने अभै केही समय कुर्नु पर्ने हुन्छ ।


