अटो शो २०२३ः भृकुटीमण्डपमा पार्किङ निषेध

काठमाडौं । भदौ २६ गतेदेखि ३१ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने १५ औं संस्करणको अटो शोमा पार्किङमा नयाँ ब्यवस्था गरिएको आयोजक नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले जनाएको छ ।

नाडाले हिजो सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा भृकुटीमण्डप प्रदर्शनी गेटबाट कुनै पनि सवारीसाधन भित्र नपठाउने निर्णय लिएको हो ।

नाडाको धारणा राख्दै अटो शो आयोजक कमिटिका सभापति अनुपकुमार बरालले भने, ‘यसपटक भृकुटीमण्डप भित्र पार्किङ सुविधा उपलब्ध हुनेछैन । अघिल्लो वर्ष नै पार्किङ एरिया भासिने जोखिम आएको थियो । यसपटक हामी जोखिम नमोल्ने निर्णयमा पुगेका हौं ।’

सुरुमै नाडा अटो शोमा गर्न लागिएको नयाँ ब्यवस्था भन्दै नाडाका अध्यक्ष ध्रुव थापाले भनेका थिए, ‘सानो ठाँउमा थोरै सवारीसाधन जम्मा हुँदा जामलाग्ने गरेको र भृकुटीमण्डपले पार्किङ नथेग्ने भएको कारण विकल्प खोजिएको हो ।’

अटो शो घुम्नेले पार्किङ कहाँ गर्ने ?

आयोजकले अवलोकनकर्तालाई पार्किङको विकल्प खोज्न र केही स्थानमा आफुहरुले कुरा गरिरहेको जानकारी दिएको छ । नाडाले काठमाडौं भ्यूटावरमा बनेको पार्किङ स्थल, काठमाडौं मलको पार्किङ, सैनिक कार्यालय भवन जस्ता स्थानमा पार्किङ प्रयोग गर्न सम्बन्धीत पक्षसँग कुरा गरिरहेको जनाएको छ ।

यसका साथै, आफ्नो पायक पर्ने र चिनेजानेको स्थानमा पार्किङ गर्न अवलोकनकर्तालाई भनिएको छ । यसरी सबैको सहयोग पाए अटो शोमा हुने अनावश्यक सवारीचाप न्यूनिकरण गर्न सकिने नाडाको ठम्याई छ ।

निःशुल्क सटल बस

टुरिजम बोर्ड, सहिद गेट, काठमाडौं मल, सैनिक कल्याणकारी भवन, शंखधर पार्क, काठमाडौं भ्यू टावर हुँदै निःशुल्क सटल बस संचालन गर्न लागिएको छ ।

यसले तपाईको साधन जहाँ पार्किङ गरेपनि तपाईलाई प्रदर्शनी स्थल पुग्न सजिलो हुने अनुमान गर्न सकिन्छ । करिब ७० हजार मानिसले अवलोकन गर्ने अनुमान गरिएको अटो शोले अटोमोवाइल कारोबार चलायमान बनाउने अनुमान गरिएको छ ।


Back_to_top