काठमाडौं । ईभीको चर्चाले छाँयामा परेको पेट्रोल कारको चर्चा एकदमै कम हुने गरेको छ । जुनसुकै बजारमा पनि हुने नयाँ बस्तुको चर्चा नै हो । त्यसैले यस पटक नाडा अटो शोमा सर्वाधिक चर्चामा इलेक्ट्रीक कारहरु छन् ।
हुन्डाई र टाटाले एउटै सेग्मेन्टमा नयाँ पेट्रोल कार सार्वजनिक गर्न लागेका छन् । ईभीको कारण यसपटक पेट्रोल कारको चर्चा नै कम भइरहेको छ । हुन्डाई र टाटा दुबै ब्राण्डले आफ्नो पहिलो माइक्रो एसयूभी अटो शो मार्फत नेपालमा प्रदर्शनी गर्दैछन् ।
टाटा पन्च भारतीय बजारमा सफलताको स्वाद चाखिसकेको मोडल हो । यसले भारतमा ३ लाख यूनिट बिक्री पुरा गरिसकेको छ । त्यस्तै हुन्डाई एक्सटर भारतमा दुई महिना अघि मात्रै बिक्री सुरु भएको मोडल हो । यसले पनि राम्रो बिक्री पाउन थालेको छ ।
यस्तो छ टाटा पन्च
पन्चमा १.२ लिटर थ्रि सिलिण्डर पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ८६ बीएच पावर र ११३ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स दिइएको छ । यसमा १८७ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

निकै बाक्लो बडी क्लाडिङ, स्क्वायर अफ ह्वील आर्क, एलइडी टेलल्याम्प, हर्मनको ७ इन्च इन्फोटेन्टमेन्ट सिस्टम, ९० डिग्रीमा खुल्ने ढोका, १६ इन्चको डायमन्ड कट अलोय ह्वील, अटोमेटीक क्लाइमेट कन्ट्रोल, रेन सेन्सिङ वाइपर जस्ता फिचर यसमा रहेको छ ।
रिभर्स क्यामेरा, व्याक सेन्सर, पुस बटम स्टार्ट/स्टप बटम, दुई एयरव्याग, एबीएस, इबीडी, ब्रेक एसवे कन्ट्रोल, इएससी, क्रुज कन्ट्रोल, अटो फोल्डिङ ओआरभीएम, लेदर र्याप स्टेरिङ ह्वील फिचरले पन्चलाई प्रिमियम बनाएको छ ।
यस्तो छ हुन्डाई एक्सटर
हुन्डाईले आफ्नो चर्चित ह्याचब्याक ग्राण्ड आई १० नियोसको प्लेटफर्ममा उत्पादन गरेको एक्स्टरको ड्यासबोर्ड पनि नियोसबाटै प्रभावित भएको छ । एसी भेन्ट, ड्यासबोर्ड, इन्फोटेन्मेन्ट स्कृन, डोर ट्रिम लेआउट, क्लाइमेट कन्ट्रोल नब, थ्री स्पोक स्टेरिङ ह्वील र इन्ट्रुमेन्ट क्लष्टर नियोसकै जस्तो छ ।

एक्सटरमा क्रुज कन्ट्रोल, ६ वटा एयरब्याग, टायर प्रेसर मोनिटरिङ सिस्टम, रियर एसी भेन्ट, पुस स्टार्ट बटन, किलेस इन्ट्रि, ड्यास क्याम जस्ता फिचरहरु दिएर फुल्ली डोडेड एसयूभी बनाएको छ ।
निकै बक्सी डिजाइनमा रहेको एक्सटरमा १.२ लिटर नेचेरल्ली एस्पीरेटेड इन्जिन, अलोय ह्वील, फ्यूचरिष्टीक डिजाइन, एच आकारमा दिइएको एलइडी डेटाइम रनिङ लाइट दिइएको छ ।

