काठमाडौं । नेपालमा विद्युतीय सवारी साधनको माग र प्रयोग बढ्दो छ । उपभोक्ता बढ्दै जाँदा व्यवसायीहरुले पनि नयाँ नयाँ ब्राण्डका इलेक्ट्रीक गाडी भित्र्याउने क्रम बढ्दो छ ।
यसैक्रममा, सीजी मोटर्सले स्मार्ट वान इलेक्ट्रीक ब्रान्ड नेपालमा ल्याउने भएको छ । कम्पनीले स्मार्ट अटोमोबाइलसँग नेपालमा बिक्री वितरणको लागि शनिबार एक सम्झौतामा हस्ताक्षर गरेको हो ।
जर्मनीको मर्सडिज बेन्ज ग्रुप तथा चीनको जिली होल्डिङको जोयन्ट भेन्चर रहेको स्मार्ट अटोमोबाइलले लग्जरी इन्टेलिजेन्ट प्योर इलेक्ट्रीक भेहिकल बनाउँदै आएको छ । नेपालमा यो ब्राण्डको पहिलो भेहिकलको रुपमा स्मार्ट वान छिट्टै भित्रिने छ ।
सीजी मोटर्सले यस अघिनै होजोन अटोको नेटा भी इलेक्ट्रिक कार तथा केवाइसी ब्राण्डको मिनी ईभी भ्यान तथा किङलङ ब्राण्डकाे प्यासेन्जर ईभी भ्यान बिक्री गर्दै आएको छ ।
स्मार्ट वान क्रसओभर

सन् २०२२ को अप्रिल ७ मा अनभिल भएको स्मार्ट वान एक सबकम्प्याक्ट एसयूभी हो । यो २०० किलोवाट मोटर भएको पावरफुल एसयूभीमा रियर ड्राइभ सिस्टम रहेको छ । ६६ किलोवाट आवरको निकेल कोवाल्ट म्याग्नेसिस ब्याट्रीप्याक रहेको यो एसयूभीले एक पटकको फुल चार्जमा ४४० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ ।
सस्टेनेबल एक्सपिरीयन्स आर्किटेक्चरमा बनेको स्मार्टवानकोे लम्बाइ ४२७० एमएम, १८२२ एमएम चौडाइ, १६३६ एमएम उचाइ तथा २७५० एमएमको ह्वीलबेस रहेको छ । स्मार्टवानले यूरो एनक्यावको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ । चिनियाँ बजारमा यो ईभीको मूल्य करिब २५ हजार डलर रहेको छ ।

