काठमाडौं । विद्युतीय कार नेपाल आउने क्रम जारी छ । विभिन्न कम्पनीले एकपछि अर्को विद्युतीय गाडी ल्याइरहेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर चेरी, स्मार्ट र एवोनले आ–आफ्नो नयाँ मोडल नेपाल ल्याउन लागेका छन् ।
नयाँ आउने सबै मोडल एसयूभी हुन् । चेरी ओमोडा यसअघि नै नेपाल ल्याउने तयारी भएको मोडल हो । यसका अलावा अन्य दुई ब्राण्ड एवोन र स्मार्ट दुबै नेपालको लागि नयाँ हुन् । यी दुबै नयाँ ब्राण्ड चौधरी ग्रुप अन्तर्गतको सिजी मोटर्सले नेपाल ल्याउन लागेको हो ।
मूल्यका हिसावले ५० लाखदेखि १ करोड माथि एसयूभी नेपाल आउन लागेका हुन् । यी तीन ब्राण्डका एसयूभीमा चेरी ओमोडा र एवोन एलएक्स मोडल लगभग समान मूल्यमा आउन सक्ने छन् । यी गाडीको मूल्य ५० देखि ६० लाख हाराहारी पर्न सक्नेछ । तर, स्मार्ट वान मोडलको प्रिमियम भर्सन नेपाल आउने भएको कारण यसको मूल्य १ करोड माथि पर्न जाने अनुमान गरिएको छ ।
नेपाल आउने क्रममा रहेको जीएसी एवोन एलएक्स चीनमा बिभिन्न ४ भेरियन्टमा उपलब्ध छ । नेपालमा कुन भेरियन्ट आउँछ अहिलेसम्म कुनै आधिकारी जानकारी प्राप्त भएको छैन ।

चीनमा एवोन एलक्स ६०, एलएक्स ७०, एलएक्स ८० र एलएक्स ८० डी मोडल उपलब्ध छ । जसमा १३५ देखि ३०० किलोवाटसम्मको इलेक्ट्रीक मोटर उपलब्ध छ । यसमा ब्याट्री पनि ७० किलोवाट आवर र ९० किलोवाट आवरसम्मको छ । यसको रेन्ज कम्तीमा ५०० किलोमिटर रहने छ ।
चिनियाँ सफल ब्राण्ड चेरीको ओमोडा नेपाल आउन लागेको छ । नेपालमा एपीजी अटोमोवाइल कम्पनीले ओमोडा क्रसओभर ल्याउने छ । यसमा ६४ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट आवरमो इलेक्ट्रीक मोटर रहने छ । उक्त ब्याट्रीले सिङ्गल चार्जमा ४५० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

डिसी फास्ट चार्जर सपोर्ट गर्ने ओमोडा ईभीलाई ४० मिनेटमा नै ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । साथै, ७.२ किलोवाटको एसी चार्जरले पाँच घण्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीको दावी छ ।
स्मार्ट मर्सिडिजसँगको सहकार्यमा स्थापना भएको ब्राण्ड हो । चीनमा निकै सफल यो ब्राण्डले प्रिमियम एसयूभी ‘ह्यासट्याग १’ नामको मोडल नेपालमा बिक्री सुरु गर्नेछ ।
स्मार्ट वानको २०२४ भर्सन चीनमा सार्वजनिक भइसकेको छ । यहि मोडल नेपाल आउने सिजी मोटर्सले जनाएको छ । कम्पनीले यसमा २०० किलोवाट क्षमताको मोटर दिएको छ ।

रियर ह्वील ड्राइभ सिस्टम भएको स्मार्ट १ मा ६६ किलोवाट आवरको निकेल कोवाल्ट म्याग्नेसिस ब्याट्री प्याक छ । यसलाई एक पटक फुल चार्जगर्दा ४४० किलोमिटरसम्म चलाउन सकिने कम्पनीको दावी छ ।
‘सस्टेनेबल एक्सपिरीयन्स आर्किटेक्चर’मा बनेको स्मार्ट वानकोे लम्बाई ४२७० एमएम, १८२२ एमएम चौडाई र १६३६ एमएम उचाई रहेको छ । यसमा २७५० एमएमको ह्वीलबेस पाउन सकिन्छ ।

