काठमाडौं । हिरो एक्सपल्स २०० अब तीन लाख रुपैयाँमा नै किन्न पाइने भएको छ । एक्सपल्स २०० को बीएस ४ भर्सन तीन लाख रुपैयाँदेखि नै बजारमा उपलब्ध हुन थालेको हो ।
हिरो मोटरसाइकलको नेपालका लागि बिक्रेता कम्पनी नेपाल जनरल मार्केटिङले स्टक क्ल्यिरेन्स गर्ने भन्दै पुरानो मोडल एक्सपल्स २०० मोटरसाइकलमा १ लाखभन्दा धेरै छुट दिएर डिलर नेटवर्कमा पठाएको हो ।
अहिले काठमाडौंका कतिपय रिकन्डिसन हाउसमा पनि ३ लाख १० हजारमै २०२१ मोडलका प्रयोग नगरिएको एक्सपल्स २०० उपलब्ध रहेका छन् । यसले एनजीएमले हिरोका मोटरसाइकलको स्टक सक्न लागेको अनुमान लगाउन सकिन्छ ।
हिरो मोटोकर्पले उत्पादन गर्ने र नेपाल जनरल मार्केटिङले बिक्री गर्दै आएको हिरोका नयाँ उत्पादन नेपाल आउन सकेको छैन । कम्पनीसँग कानुनी लडाईको कारण अहिले नेपालमा हिरोको आधिकारीक बिक्रेता नहुने अवस्था आएको हो ।
हिरो मोटोकर्पले डिलर नविकरण नगरेको र आधिकारीक बिक्रेता नै नरहेको भन्दै नेपालमा मोटरसाइकल नै उपलब्ध गराएको छैन । त्यसैले एनजीएमले स्टक क्लियरेन्स गर्ने उद्देश्यले ४ लाख ३ हजारमा बिक्री गर्दै आएको एक्सपल्स २०० को बीएस ४ भर्सन तीन लाखभन्दा कम मूल्यमा नै आफ्ना डिलरहरुलाई दिन थालेको हो ।
अहिले एक्सपल्स २०० को पुरानो भर्सन किन्न चाहाने ग्राहकले ३ लाख रुपैयाँदेखि ३ लाख १० हजार रुपैयाँसम्ममा मोटरसाइकल किन्न सक्नेछन् ।
कम्पनीले यसअघि आफ्ना स्कुटरहरुमा समेत स्कीम दिएर विक्री गरेको सुचना बाहिर आएको थियो । पछिल्ला दिनका गतिविधि हेर्दा ज्योति ग्रुप अन्तर्गतको नेपाल जनरल मार्केटिङ कम्पनीले हिरोका नयाँ उत्पादन पुनः बजारमा ल्याउने सम्भावना न्यून बन्दै गएको छ ।

