सेरेसले ल्यायो १३०० किमि रेन्ज दिने एसयूभी, चीनमा रेकर्ड बुकिङ

काठमाडौं । हुवावे र सेरेसको संयुक्त लगानीमा बनेको पहिलो हाइब्रिड एसयूभी ‘आइटो एम-७’ रेन्जको कारण चर्चा कमाइ रहेको छ । कम्पनीले चर्चा मात्रै कमाएको छैन, रेकर्ड बुकिङ पनि पाइरहेको छ ।

सेप्टेम्बर १२ बाट चीनमा बिक्री सुरु भएको आइटो एम-७ ले अहिलेसम्म ४० हजार बुकिङ पाएको छ । कम्पनीले पैसा फिर्ता नहुने सर्तमा बुकिङ खुल्ला गरेको थियो । सेप्टेम्बर १२ देखि ३० सम्म चीनभर कम्पनीले दैनिक १५०० यूनिटका दरले बुकिङ पाएको थियो । जसमा ३० हजार यूनिट बुकिङ भएको जनाइन्छ ।

अक्टोबर लागेसँगै यसको बुकिङ झनै तिब्र भएको छ । अक्टोर १ देखि ५ तारिखसम्म दैनिक २ हजार यूनिटको दरले बुकिङ भइरहेको चिनियाँ मिडियाले उल्लेख गरेका छन् । पछिल्ला ५ दिनमा १० हजार बुकिङ पार गरेको हो ।

कम्पनीले आइटो एम-७लाई चिनियाँ बजारमा विभिन्न ५ भेरियन्टमा उपलब्ध गराएको छ । जसको मूल्य ३४ हजार २०० डलरदेखि ४५ हजार २०० डलरसम्म रहेको छ । एम ७ लाई कम्पनीले ५ र ६ सिट क्षमतामा ल्याएको छ ।

नयाँ एसयूभीमा हुवावेले २७ वटा सेन्सर सहितको एडास २.० एड्भान्स ड्राइभिङ सिस्टम दिएको छ । एडास भित्र कोलुजन एभोइडेन्स, अटोमेटीक इमर्जीन्सी ब्रेकिङ सिस्टम, अटोनोमस पार्किङ लगायतका फिचर छन् ।

कम्पनीले यसमा १.५ लिटर क्षमताको टर्बो इन्जिनसँग प्लगइन हाइब्रिड सिस्टम दिएको छ । रियर ह्वील ड्राइभ र फोर ह्वील ड्राइभ अप्सनमा उपलब्ध एसयूभीमा ४० किलोवाट आवरको ब्याट्री दिइएको छ ।

यसलाई ब्याट्री पावरबाट मात्रै २१० किलोमिटर चलाउन सकिने कम्पनीको दावी छ । फुल ट्याङ्क पेट्रोल र फुल चार्जले भने संयुक्त रेन्ज १३०० किलोमिटर दिने कम्पनीको दावी छ ।


Back_to_top