काठमाडौं । जाडो मौसमको सुरुवातसँगै उच्च पहाडी जिल्लामा हिमपात सुरु भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष अल्ली चाँडै हिमपात सुरु भएको हो ।
नेपालमा उच्च हिमाली जिल्लामा मोटरसाइकल लियर यात्रा गर्ने राइडरहरु धेरै भेटिन्छन् । त्यसमा पनि मनाङ र मुस्ताङ अहिले धेरैको रोजाईमा पर्दै आएका छन् । यी दुबै जिल्लामा यो वर्ष हिमपात भइसकेको छ ।
त्यसका अलावा कालिन्चोक, फुल्चोकी, रारा, गोसाइकुन्ड, पाथीभरा जस्ता धार्मीक र पर्यटकीय स्थलमा पनि हिमपात हुने गर्छ । यस्ता ठाँउमा युवाहरु मोटरसाइकल चढेरै जान रुचाउने गरेको पाइन्छ ।
त्यसैले यस्ता ठाउँहरु सामान्य लाग्ने एफआई टेक्नोलोजी भएका मोटरसाइकल लिएर जान सकिन्छ । जाँदा कस्तो पूर्व तयारी गर्ने भन्ने विषयमा जानकारी दिन खोजेका हौं ।
हिँउ नपरेको समय अधिकांश स्थानमा साना मोटरसाइकल वा स्कुटर सहजै लान सकिन्छ । तर, हिँउ परेपछि कठिन हुन्छ । केहि समय अघि टीभीएस अपाचे आरटीआर १६० फोरभीमा मैले पनि मनाङ यात्रा गरेको थिए । मैले यात्रा गर्दा हिमपात भएको थिएन । अहिले त्यहि ठाँउ यात्रा गर्न बाइक राइडरहरुले निकै संघर्ष गर्नुपर्ने हुनसक्छ । त्यसैले यात्रा सुरु गर्दा केही कुरामा ध्यान दिएको खण्डमा केही अफ्ठ्यारोमा पनि यात्रा सफल बनाउन सकिन्छ ।

मोटरसाइकल कन्डिसन जाँच्ने
कुनै पनि समयमा मोटरसाइकल लिएर तपाई यात्रामा निस्कदै हुनुहुन्छ भने तपाईले मोटरसाइकलको कन्डिसन ठिक बनाउनु पर्छ । अझ हिमपातको समयमा त विशेष ध्यान कै जरुरी हुन्छ ।
यात्रामा निस्कनु अघि मोटरसाइकलको सर्भिसिङ गर्ने, मोबील चेन्ज गर्ने, टायर प्रेसर मिलाउन, ब्याट्रीको हेल्थ चेक गर्ने, स्विच र वायरहरु चेक गराउने काम गर्नु पर्छ ।
राइडिङ गियर लगाउने
हिँउ परेको बाटो तपाईले सोचेभन्दा निकै चिप्लो हुनेगर्छ । त्यसैले राइडको पुरा समय राइडिङ गियर लगाउनु पर्छ । यदि तपाईको मोटरसाइकल चिप्ले पनि तपाईलाई केही नहोस् ।

बाक्लो कपडा लगाउने सर्टिफाइड हेल्मेट, पन्जा, नीगार्ड, ह्यान्डगार्ड, राइडिङ सुज र ज्याकेट जस्ता कुरा छुटाउनु हुँदैन । यसले दुर्घटना भैहाल्यो भनेपनि चोटपटक लाग्नबाट बचाउँछ । हिमपातको समय जाडो धेरै हुने भएकाले बाक्लो कपडा अनिवार्य रुपमा लगाएर मोटरसाइकल राइड सुरु गर्नु राम्रो हुन्छ ।
टायरमा ध्यान दिने
हिमपात भएको बाटो चिप्लो हुन्छ । यस्तोमा मोटरसाइकल चलाउँदा टायरको भूमिका एकदमै महत्वपुर्ण मानिन्छ । यदि तपाईको मोटरसाइकलमा चिप्लो बाटोमा चलाउन योग्य टायर छैन भने फेर्नु उपयुक्त हुन्छ ।
यस्तो बाटोमा ठूलो ग्रिप भएको टायर हुनुपर्छ । जसको कारण हिँउमा कम चिप्लने गर्छ । हिँउको बाटोमा चलाउँदा टायरको एयर प्रेसर अलि कमनै राख्ने गर्नुपर्छ ।
टुल्स अनिवार्य रुपमा बोक्ने
मोटरसाइकलमा आउन सक्ने सानोतीनो जानकारी सधैं यात्रा गर्नेलाई हुन्छ नै । यदि तपाईलाई छैन भने थाहा पाइराख्नु राम्रो हुन्छ । आफ्नो साथमा मोटरसाइकलको टुल्सहरु अनिवार्य बोक्नु पर्छ ।

मोटरसाइकलको क्लचवायर, ब्रेक वायर र ब्रेक सू एक्स्ट्रा बोक्नु सुरक्षीत यात्राको लागि आवश्यक हुन्छ । हिमपातको समय भनेको ठाउँमा मर्मत केन्द्र खुलेको नहुन सक्छ भन्ने कुरा माइन्ड मेकअप गरेर यात्रा थाल्नु पर्छ । समस्या प¥यो र सर्भिस सेन्टर भेटिए बोनस नै हुन्छ ।
अन्तिम कुरा स्पीडमा ध्यान दिने र साधनको हेरचाह गर्ने
हिँउ भएको बाटोमा मोटरसाइकल गुडाउन निकै कठिन हुनेगर्छ । यस्तोमा स्पीडको धेरै ख्याल गर्नुपर्छ । ठिक्क गियरमा आफुले कन्ट्रोल गर्न सक्नेगरी मोटरसाइकल कुदाउनु पर्छ ।
लोमो यात्रा चिसो ठाँउ गर्दै हुनुहुन्छ भने मोटरसाइकलको कभर बोक्न नबिर्षनु होला । चिसो ठाँउमा कभरले ढाकेर राख्दा केहि हदसम्म ब्याट्रीमा सुरक्षा पुग्छ । अझ यस्ता ठाँउमा जाँदा किक र सेल्फ दुबै स्टार्ट अप्सन भएका मोटरसाइकल लिएर जानु पर्छ ।

