चल्तीका ४ पेट्रोल कार ईभीमा आउने

काठमाडौं । नेपालमा सफल मोडलहरु चाँडै इलेक्ट्रीक अप्सनमा आउने भएका छन् । विशेषगरी टाटा, हुन्डाई, किया र रेनोका चल्तीका मोडलहरु इलेक्ट्रीकमा आउन लागेका हुन् ।

भारतीमा ईभीको बजार हिस्सा बढ्न नसकेपनि कम्पनीहरु भविष्य केन्द्रित रहनेगरी विद्युतीय मोडल उत्पादन सुरु गरेका हुन् । उनिहरुले अहिले विश्वका विभिन्न भागमा यसको परिक्षण समेत गरिरहेका छन् ।

भारतीय सफल अटोमोवाइल कम्पनी टाटाले पन्च ईभी बजारमा उतार्ने तयारी अन्तिम चरण पु¥याएको छ । यसअघि दिपावलीको आसपासमा बजारमा ल्याउने जनाइएको पन्च सम्भवत २०२४ को पहिलो क्वाटरमा बजारमा आउने छ ।

टाटा नेक्सन ईभीभन्दा कम मूल्यमा आउने अनुमान गरिएको पन्च ईभी पावर र रेन्जको हिसावले लगभग नेक्सन बराबर नै हुने अनुमान गर्न सकिन्छ ।

हुन्डाईले आफ्नो सर्वाधिक सफल मोडल क्रेटा इलेक्ट्रीकमा परिक्षण सुरु भएको छ । दक्षिण कोरियामा परिक्षणको क्रममा देखिएको क्रेटाको इलेक्ट्रीक भर्सन सन् २०२४ भित्रै बजारमा आउने छ ।

अहिले यसको इन्टरनल कम्बस्चन इन्जिन युक्त मोडलको फेसलिफ्ट बजारमा ल्याउने तयारी भइरहेको छ । फेसलिफ्ट क्रेटा लगत्तै इलेक्ट्रीक क्रेटा बजारमा आउने छ ।

भारतमा धेरै मानिसलाई समेट्न सक्ने मूल्यमा कियाले नयाँ सब फोर मिटर एसयूभी ल्याउने तयारी गरिरहेको रिपोर्टहरु यसअघि नै बाहिर आएका थिए । कियाको नयाँ एसयूभी सोनेटमा आधारित हुनेछ ।

सन् २०२५ मा मात्रै बजारमा आउने अनुमान गरिएको सोनेट ईभी आएपछि यसले टाटा नेक्सन ईभीसँग सिधा प्रतिस्पर्धा गर्नेछ । सानेट सब फोर मिटर एसयूभी पनि नेपालमा राम्रो सफलता पाएको मोडल हो ।

रेनोले सन् २०२४ मा भारतीय बजारमा नयाँ ईभी ल्याउने घोषणा गरेको छ । कम्पनीले ल्याउने ईभी कुन र कस्तो भन्ने विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन । तर, विभिन्न रोपोर्टहरुका अनुसार कम्पनीले ल्याउने ईभी रेनो क्वीडमा आधारित ईभी हुनेछ ।

रेनो क्वीड पनि नेपालमा निकै सफल मोडल हो । यसले सन् २०१८ देखि २२ सम्मको अवधिमा नेपालमा निकै राम्रो सफलता पाएको थियो । ह्याचव्याक सेग्मेन्टमा क्वीड बजारमा आउने हो भने यसको सिधा प्रतिस्पर्धा टियागो ईभीसँग हुनेछ ।


Back_to_top