काठमाडौं । विश्व बजारको तुलनामा तिब्र बिस्तार भइरहेको नेपालको विद्युतीय कार बजार सन् २०२४ झनै तिब्र बिस्तार हुने अपेक्षा गरिएको छ । अहिल्यै ६५ प्रतिशत माथि पुगेको इलेक्ट्रीकको हिस्सा आगामी वर्ष थप बढ्ने अनुमान गर्न सकिन्छ ।
नेपालमा ईभीको बिक्री सोचेभन्दा छिटो बढ्नुमा कम कर, मूल्यको फाइदा, इन्धन खर्चमा बचत, नेपाली उत्पादन विद्युतको प्रयोग, कम संचालन खर्च, वार्षिक कर पनि कम, सडक निर्माण पनि कम र सर्भिस खर्च पनि अत्यन्त कम भएकाले हो ।
सरकारी र निजी क्षेत्रले बनाएको ईभी पूर्वाधारको कारण पनि ईभी बिक्री बढिरहेको मानिन्छ । यस्तोमा नेपालमा बिद्युतीय साधन आयात गर्ने कम्पनीहरुको संख्या र उपलब्ध मोडलहरु थपिदै गएका छन् । हामीले यहाँ २०२४ को तीन महिना भित्रै नेपाल आउने मोडलका बारेमा चर्चा गरेका छौं ।
बीवाइडी सिल
बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले आफ्नो प्रिमियम सेडान सिल जनवरीमा नै बिक्री सुरु गर्दैछ । गत नाडा अटो शोमा प्रदर्शनी गरिएको सिल अन्तराष्टिय बजारमा टेस्ला मोडल थ्रीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

नेपाली बजारमा डाइनामिक, प्रिमियम र पर्फमेन्स गरी ३ भेरियन्टमा सिल मोडल उपलब्ध हुने कम्पनीले जनाएको छ । सिलको डाइनामीक भेरियन्टमा ६१.४४ किलोवाट आवरको व्लेड व्याट्री र १५० किलोवाटको मोटर छ । यो कारलाई एक पटकाको फुल चार्जमा ४६० किलोमिटरसम्म चलाउन सकिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।
त्यस्तै प्रिमियम भेरियन्टमा ८२.५६ किलोवाटको व्याट्री प्याक छ भने २३० किलोवाटको मोटर दिएको छ । त्यस्तै पर्फमेन्स भेरियन्टमा भने अझै ठूलो साइजको ३९० किलोवाटको मोटर छ । यो भेरियन्टले जम्ममा ३.८ सेकेन्डमै १०० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुड्न सक्छ ।
ओमोडा-५
चेरीको इलेक्ट्रीक ब्राण्ड ओमोडाको पहिलो ग्लोबल मोडल ओमोडा–५ जनवरीमा नेपाल आउने छ । यसको आधिकारीक बिक्री भने फेब्रुअरी महिनाबाट सुरु गर्ने आधिकारीक बिक्रेता एसपीजी अटोमोवाइलले जनाएको छ ।

निकै आकर्षक फ्यूचरिस्टीक डिजाइनमा आउने यो एसयूभीमा ६१ किलोवाट आवरको लिथियम आयोन ब्याट्री प्याक रहने छ । यसमा ९९ किलोवाटको मोटर तथा १८० एमएमको ग्राउण्ड क्लियरेन्स रहेको छ ।
दिपल एस-७
चीनको सरकारी लगानी रहेको ‘बिग फोर’ कम्पनी मध्येको एक चांगन अटोमोवालको ईभी ब्राण्ड दिपल ब्राण्ड नेपाल प्रबेशको लागि तयार भएको छ । जनवरीमा यसको केही यूनिट कार नेपाल आइपुग्ने छ ।
दिपलको एस–०७ र एल–०७ नेपाल आउने छन् । यसलाई वृद्धि अटोकर्पले नेपाल ल्याउन लागेको हो । चाइनाको सबैभन्दा ठूलो व्याट्री कम्पनी सीएटीएल र टेक कम्पनी ह्वावेसँगको संयुक्त लगानीमा तयार भएको दिपलका गाडी निकै प्रिमियम मानिन्छन् ।

दिपल एस७ मा नयाँ अत्याधुनिक टेक्नलोजीको प्रयोग भएको छ । यो एसयूभी फ्रेमलेस डोर, हिडन डोर ह्याण्डल, १९ इन्चको ह्वील, रियर ह्वील ड्राइभ सिस्टममा आउने छ ।
दिपल एस७ को इन्टेरियर पनि निकै प्रिमियम रहेको छ । नयाँ प्रविधिको १५.६ इन्चको सनफ्लावर इन्फोटेन्मेन्ट स्कृनको साथ आउने गाडीमा एचयूडी डिस्प्ले, प्यासेन्जर साइडमा १२.३ इन्चको सेन्सर स्मार्ट स्कृन, जीरो ग्राभिटी मसाज सिट, इलेक्ट्रीक सनसेड, रियर टचस्कृन जस्ता फिचर छन् ।
मिडसाइज सेग्मेन्टको यो एसयूभीमा १६० किलोवाटको मोटर तथा ६६.८ किलोवाट आवरको टर्नरी लिथियम आयोन ब्याट्री प्याक छ । कम्पनीका अनुसार यो ईभीलाई फुल चार्जमा ५२० किलोमिटरसम्म चलाउन सकिनेछ ।
स्काइवेल इटी-५
गत वर्षको नाडा अटो शोमा नै नेपाल आउने भनिएको नयाँ इलेक्ट्रीक ब्राण्ड स्काइवेलको उत्पादन इटी–५ नेपाल आउने भएको छ । स्काइवेलको आधिकारीक वितरक जी ईभी मोटर्सले सन् २०२४ को जनवरी अन्त्यसम्ममा इटी–५ नेपाल आउने छ ।

नाडा अटो शोमा १ करोड ९ लाख मूल्य राखेर बुकिङ खुल्ला भएको स्काइवेल इटी–५ एक प्रिमियम इलेक्ट्रीक एसयूभी हो । यसमा ८५.९७ किलोवाट आवरको हाइडन्सीटी टर्नरी थर्मोस्ट्याटीक ब्याट्री छ । यसले फुल चार्जमा ६४२ किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ ।
इटी–५ मा १५० किलोवाटको मोटर रहेने छ । धेरै अत्याधुनिक सुरक्षा फिचर र लग्जरी क्याविन फिचर रहेको यो एसयूभी नेपाल आएको अहिलेसम्मकै धेरै रेन्ज दिने ईभी हुनेछ ।
नेटा एक्स
सिजी मोटर्सले होजोन अटोले बनाएको क्रसओभर एसयूभी नेटा एक्स सन् २०२४ को मार्चमा लन्च गर्ने जनाएको छ । यसअघिनै नेटा भी राम्रो संख्यामा बिक्री गरेको कम्पनीले निकै राम्रो मूल्यमा नेटा एक्स ल्याउने जनाएको हो ।
नाडा अटो शोमा बुकिङ लिइसकेको नेटा–यूको परिमार्जित भएर आउन नेटा एक्स नामबाट आउन लागेको हो । यसमा ५४.३२ किलोवाट आवरको ब्याट्रीप्याक र १०० किलोवाटको मोटर हुनेछ ।

नेटा एक्समा क्वालकम स्मार्टड्रयागन ८१५५ ककपीट दिएको छ । चिनियाँ बजारमा सुरुवाती मूल्य १७ हजार डलर रहेको नेटा एक्सको नेपाली बजारमा मूल्य ५० देखि ५५ लाखको हाराहारीमा हुने अनुमान गरिएको छ ।
महिन्द्रा एक्सयूभी ४००
नेपालमा ईभी बिक्री सुरु गर्ने महिन्द्रासँग अहिले ईभी छैन । कम्पनीले भारतमा एक वर्ष अगाडि बिक्री सुरु भएको एक्सयूभी ४०० नेपाल ल्याउन लागेको हो ।
पहिलेको तुलनामा नयाँ फिचरहरु थप गरेर जनवरी १६ बाट भारतमा बिक्री सुरु गर्दैछ । त्यसपछि मात्रै एक्सयूभी ४०० नेपाल आउने छ । कम्पनीले यसमा ३४.५ र ३९.४ किलोवाट अवारको दुई ब्याट्री अप्सन दिएको छ ।

यसमा एड्रोनक्स सफ्टवेर सहितको १०.२५ इन्चको इन्फोटेन्मेन्ट सिस्टम दिएको छ । डिउल जोन क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, वायरलेस एन्ड्ररोइड अटो तथा एप्पल कारप्ले, रियर एसी भेन्ट, रियर यूएसबी पोर्ट, डिउलटोन ड्यासबोर्ड, नयाँ डिजाइनको स्टेरिङ ह्वील दिइएको छ ।
यसका अलावा टाटाको पन्च ईभी, चांगनको लग्जरी इलेक्ट्रीक भेहिकल अबतार, हुन्डाईको नयाँ जेनेरेशनको कोना, स्मार्ट र एवोन ब्राण्ड नेपाल आउने छन् । टाटाको सफल नेक्सनको नयाँ जेनेरेशन मोडल पनि नेपाल आउन तयार मोडल हो ।


