रोचक प्रतिस्पर्धामा टेस्ला र बीवाइडी, नम्बर वानको लडाई तिब्र

काठमाडौं । अमेरिकी ब्राण्ड टेस्ला र बीवाइडी बीच इलेक्ट्रीक कारमा पहिलो बन्ने लडाई रोचक मोडमा पुगेको छ । सन् २०१५ देखि नम्बर वानको ताज लिएर हिडेको टेस्लालाई वीवाइडीले ठूलै धक्का दिएको हो ।

सन् २०२३ को अन्तिम क्वाटरमा टेस्लालाई पछाडि छाड्दै बीवाइडी अगाडि निस्कन सफल भयो । त्यसले विश्वभर यी दुई ब्राण्ड बीचको प्रतिस्पर्धालाई निकै रोचक तरिकाले हेरिएको छ ।

पछिल्लो दुई वर्षको तथ्यांकलाई हेर्दा झण्डै दोब्बर अगाडि रहेको टेस्ला अचानक २४ महिना पछि आउँदा पछाडि परेको हो । सन् २०२३ को पहिलो क्वाटरमा टेस्लाले ४ लाख २२ हजार ८७५ यूनिट कार बिक्री गर्दा बीवाइडीले केबल २ लाख ६४ हजार ६४७ यूनिट प्योर इलेक्ट्रीक कार बिक्री गरेको थियो ।

त्यसपछि २०२३ कै दोस्रो क्वाटरमा आउँदा यी दुई कम्पनी बीचको दुरी केही कम भयो । दोस्रो क्वाटरमा ४ लाख ६६ हजार १४० यूनिट ईभी टेस्लाले बिक्री गर्दा बीवाइडीले ३ लाख ५२ हजार १४५ यूनिट ईभी बिक्री गरेको थियो ।

तेस्रो क्वाटरमा आइपुग्दा केही हजारले मात्रै टेस्ला अगाडि थियो । टेस्लाले ४ लाख ३५ हजार ५९ यूनिट कार बिक्री गर्दा बीवाइडीले ४ लाख ३१ हजार ६०३ यूनिट प्योर इलेक्ट्रीक कार बिक्री गरेको थियो ।

वर्षको अन्तिम क्वाटरको तथ्यांक सार्वजनिक हुँदा बीवाइडीले टेस्लालाई जित्यो । चौथो क्वाटरमा बीवाइडीले ५ लाख २६ हजार ४०९ यूनिट इलेक्ट्रीक कार बिक्री गर्दा टेस्लाले केबल ४ लाख ८७ हजार ५०७ यूनिट मात्रै बिक्री गर्न सक्यो ।

अन्तिम क्वाटरमा बीवाइडीले उछिनेपनि सन् २०२३ को समग्र ब्याट्री इलेक्ट्रीक कारको बिक्रीमा टेस्ला नै अगाडि रहेको छ । टेस्लाले सन् २०२३ मा १८ लाख ८ हजार ५८१ यूनिट इलेक्ट्रीक कार बिक्री गरेको छ । बीवाइडीले भने यस अवधिमा १५ लाख ७४ हजार ८०४ यूनिट ब्याट्री इलेक्ट्रीक कार बिक्री गरेको हो ।

विगत आठ वर्षमा पहिलो पटक टेस्लालाई बीवाइडीले प्योर ईभीमा उछिनेको हो । जसरी बीवाइडी र टेस्ला बीच प्रतिस्पर्धा भइरहेको छ । भोलिका दिनमा पनि यो प्रतिस्पर्धा जारी रहने देखिन्छ ।

टेस्लाले मेक्सीकोमा ठूलो उत्पादन क्षमता सहितको प्लान्ट बनाइरहेको छ भने भारतको गुजरातमा नयाँ प्लान्ट लागउने तयारी तिब्र बनाएको छ । त्यसैगरी बीवाइडीले थाइल्याण्ड र हंगेरीमा प्लान्ट लगाउने काम अगाडि बढाएको छ ।


Back_to_top