काठमाडौं । विश्वको ठूलो मध्येको एक लिथियम आयोन ब्याट्री निर्माता एलजी इनर्जी सोलुसनले ‘हाइ क्यापासिटीको सिलीण्ड्रीकल ब्याट्री सेल’ ल्याउने भएको छ ।
कम्पनीले ‘४६८० टाइप’ ४६ एमएम डायमिटर र ८० एमएम हाइट भएको सिलीण्ड्रीकल सेल लन्च गर्न लागेको हो । यसअघि ४६८० टाइप ब्याट्री टेस्लाले प्रयोगमा ल्याएको थियो । टेस्लाले यस्तो ब्याट्री क्यालीफोर्नीया र टेक्सासमा रहेको आफ्नो ‘गिगा फ्ल्याक्ट्री’मा निर्माण गरिरहेको छ ।
अमेरिकी इलेक्ट्रीक जाइन्टले ४६८० ब्याट्री आफुले मात्रै प्रयोग नगरी उत्पादकलाई अन्य सप्लायरलाई पनि प्रयोग गर्न भनिरहेको छ ।
अहिलेसम्म टेस्लाले मात्र यो ब्याट्री इलेक्ट्रीक भेहिकलमा प्रयोग गरिरहेको छ । सुरुवातमा मोडल वाईमा प्रयोग भएको यो ब्याट्री पछिल्लो समयमा साइबरट्रकमा समेत प्रयोग भएको छ ।
एलजीको नयाँ ४६८० टाइप ब्याट्री ईभीको लागि हालसम्मको ठूलो साइजको सिलीण्ड्रीकल ब्याट्री हुनेछ । यसमा हाइ इनर्जी डेन्सीटी हुनुका साथै उत्पादन लागत पनि कम हुनेछ । यसको अर्को विशेषता भनेको यो ब्याट्रीबाट ब्याट्रीप्याक बनाउन पनि एकदमै सजिलो हुन्छ ।
एलजीले पनि उक्त नयाँ ब्याट्री अमेरिकाको एरिजोना प्लान्टबाट उत्पादन गर्ने जनाइएको छ । एलजीले सन् २०२५ को सेकेन्ड हाफसम्ममा अर्को लिथियम आयोन फस्फेड क्याथोड केमेस्ट्री भएको ब्याट्री समेत बनाउने योजना सार्वजनिक गरिसकेको छ ।


