सुजुकीले सबै कारमा हाइब्रिड इन्जिन दिने, माइलेज प्रतिलिटर ३० देखि ४० किमी

काठमाडौं । जापानी ब्राण्ड सुजुकीले भारतीय बजारको लागि ईभीभन्दा बढी प्राथमिकतामा हाइब्रिड कारलाई राख्ने संकेत दिएको छ । कम्पनीले अहिले भारतमा उत्पादन गर्दै आएको सबै कार मोडल हाइब्रिड इन्जिनमा ल्याउने तयारी थालेको हो ।

कम्पनीले भारतको लागि विशेष योजना नै सार्वजनिक गरेको छ । सुजुकीले बनाउने हाइब्रिड टेक्नोलोजी तीन प्रकारको हुनेछ । उसले प्यारलल् हाइब्रिड, सिरिज-प्यारलल् हाइब्रिड र सिरिज हाइब्रिड नाम दिएर ल्याउन लागेको हो ।

यी तीन प्रकारका हाइब्रिड टेक्नोलोजीको आ-आफ्नै किसिमका विशेषता छन् । पहिलो प्यारलल् हाइब्रिड टेक्नोलोजी भएका कारमा इन्जिन, ब्याट्री र इलेक्ट्रीक मोटर रहने छ । यसमा इलेक्ट्रीक मोटर र इन्जिन दुबैले पावर दिनेछन् । इलेक्ट्रीक मोटरमा ब्याट्रीले पावर दिन्छ भने इन्जिनले पनि पावर प्रदान गर्छ ।

अर्को सिरिज–-प्यारलल् हाइब्रिड टेक्नोलोजीमा इन्जिनले नै ब्याट्री चार्ज गर्ने र गाडीलाई पावर पनि दिने काम गर्छ । ब्याट्रीले भने इलेक्ट्रीक मोटरलाई पावर दिन्छ ।

त्यसैगरी सिरिज हाइब्रिड टेक्नोलोजीमा इन्जिनले जेनेरेटरको मात्रै काम गर्छ । यसमा इन्जिनले ब्याट्री चार्ज गर्ने र आवश्यक पर्दा इलेक्ट्रीक मोटरमा मात्रै पावर प्रदान गर्छ । यो टेक्नोलोजी निसानको ई-पावर जस्तै हो ।

यी हाइब्रिड टेक्नोलोजीको प्रयोगबाट आफ्ना कारको माइलेज वृद्धि गर्ने योजना कम्पनीले अगाडि सारेको हो । यसका अलावा सुजुकीले प्योर ईभीको रुपमा ईभीएक्स मोडल यहि वर्ष सार्वजनिक गर्दैछ ।


Back_to_top