काठमाडौं । विद्युतीय स्कुटरमा मनलाग्दी मूल्य निर्धारण गर्ने, ग्राहकबाट पैसा उठाउने र पछि सर्भिस लगायतका सुविधा ग्राहकलाई नदिने परिपाटी मौलाएको छ । विद्युतीय कार दिएर नभ्याइरहेको समयमा इलेक्ट्रीक स्कुटरको दयनिय अवस्था हुनुमा बिक्रेता मुख्य जिम्मेवार देखिन्छन् ।
पेट्रोलियम पदार्थबाट भल्ने दुई पाँग्रेको तुलनामा ईभीमा सरकारले कम कर लगाएको भएपनि ईभीको उत्पादन लागत नै महंगो भएको कारणले पनि मूल्य धेरै रहेको हो । तर, आयातकर्ताहरु छिटो पैसा कमाउने योजनामा रहँदा पनि ग्राहकले चासो नदेखाएका हुन् ।
आयातकर्ताले नाफा कति राखेका छन् भन्ने कुरा एउटै स्कुटरमा पाइने ५० हजारसम्म छुटले इगित गर्छ । दुई पाङ्ग्रे साधनको कारोबारमा ठूला ब्यवसायीक धराना राम्रोसँग आउन सकेका छैनन् ।
लगभग ८० भन्दा धेरै ब्रान्ड आयात भइरहको ईभी बजारमा स्कुटरमा नाफा धेरै खाने ट्रेन्ड देखिन्छ । सर्भिस तथा पार्टसमा लगानी नगर्ने तथा स्कुटर विक्री गरेर शोरुम सार्ने बन्द गर्नेसम्मका कार्य गर्दै आएका छन् । यसले दुईपाँग्रे ईभीको बजार सिथिल बनाएको बुझ्न सकिन्छ ।
अहिले बजारमा धेरै कम्पनीहरुले विभिन्न स्कीम संचालन गरिरहेका छन् । ती स्कीमहरु हेर्दा एउटै इलेक्ट्रीक स्कुटरमा लाखौं नाफा लिएको बुझ्न सकिन्छ । कम्पनीहरुले ५० हजारसम्मको छुटमा स्कुटर विक्री गर्दै आएका छन् ।
कोमाकी इलेक्ट्रीक स्कुटर विक्री गर्ने कम्पनी यूनिटी ट्रेडिङले ‘नाइ भन्नै नसकिने छुट’ भन्दै एउटै स्कुटरमा ३९ हजार रुपैयाँ छुट स्कीम ल्याएको छ । कम्पनीले २ लाख ६९ हजार रुपैयाँ एमआरपी तोकेको स्कुटरमा नै ३९ हजार रुपैयाँ छुट दिएको छ । कम्पनीले एमआरपीमा नै लगभग १५ प्रतिशत छुट दिएको हो ।
त्यस्तै अर्को इलेक्ट्रीक स्कुटर विक्रेता कम्पनी ह्वाइट लोटस मोटर्सले एक विज्ञप्ती जारी गर्दै प्योर इभीका इलेक्ट्रीक स्कुटरमा ४५ हजार रुपैयाँसम्मको छुट दिने बताएको छ । कम्पनीले २ लाख ७० हजार रुपैयाँका स्कुटर तथा ४ लाख रुपैयाँमा इलेक्ट्रीक मोटरसाइकल बिक्री गर्दै आएको छ ।
त्यस्तै जम्वो इको भेहिकलले लेभनिङका स्कुटहरुमा २५ हजार रुपैयाँको छुट स्कीम सार्वजनिक गरेर स्कुटर विक्री गरिरहेको छ । त्यसैगरी सुपर शोकोले ४० हजार, केडिया ग्रुपले २० एम्पेरमा २० हजार तथा हर्विन इलेक्ट्रीकमा ५० हजार रुपैयाँसम्मको छुट दिएको छ ।
यसले आयात कर्ता कम्पनीहरुले नाफा धेरै राख्ने र छुटको नाममा ग्राहक झुक्याउने काम भइरहेको देखिन्छ ।


