काठमाडौं । भारतीय बजारमा मूल्य घट्ने वित्तिकै नेपालमा कारको मूल्य घट्छ भन्ने धेरैको बुझाई छ । नेपाल आउने गाडीहरु कम्तीमा ३/४ महिना पहिल्यै अर्डर गरेर ल्याएकाले घट्दैन भन्ने कम्पनीहरुको भनाइ सुनिन्छ ।
अहिले भारतमा विद्युतीय कारको मूल्यमा कम हुन थालेको छ । यस्तो मूल्य चीनमा निरन्तर तलमाथि भइरहन्छ । भारतमा भने पहिलो पटक भएको हो । त्यसैले भारतीय बजारलाई नजिकबाट नियाल्ने धेरैले भारतमा मूल्य घट्यो नेपालमा पनि घट्छ हाला नी भन्ने गरेको सुनिन्छ ।
भारतको तुलनामा नेपालमा मूल्यको असर ३/४ महिना पछि मात्रै पर्ने गरेको विगतदेखि कै अनुभवले देखाउँछ । अहिले भारतमा टाटा नेक्सन ईभी, एमजी कोमेट र टियागो ईभीको मूल्य घटेको छ । यहि प्रसंगमा धेरैले नेपालमा पनि तत्काल मूल्य घट्ने चर्चा गरेका हुन् ।
यी ब्राण्डका आधिकारीक बिक्रेताले भने नेपालमा तत्काल मूल्य घटबढ नहुने बताएका छन् । टाटाको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङका अनुसार तत्काल ईभीको मूल्य घट्ने अवस्था छैन ।
‘भारतमा मूल्य घटेको नयाँ नेक्सन ईभी नेपाल आएकै छैन । नेपाल आउँदा घटेको मूल्यमा नै आउने छ । टियागो ईभीमा जम्मा १५ हजार घटेको हो । हामीले सुरुमा दिएको मूल्य नै परिवर्तन गरेका छैनौं । त्यसमै एड्जस्ट गर्छौ’, कम्पनीका महाप्रबन्धक शावन्तजंग सिजापतीले भने ।
एमजी कोमेटको पनि मूल्य तत्काल परिमार्जन हुनेछैन । अहिले नयाँ गाडी आएको बताउँदै कम्पनी स्रोतले भन्यो, ‘नयाँ गाडी आयात गर्दा मूल्य घटेर आएमा समायोजन हुन्छ ।’


