काठमाडौं । न्यू इनर्जी भेहिकलको बादशाह बीवाइडीले सन् २०२४ मा ४२ लाख यूनिट कार बिक्री गर्ने महत्वाकांक्षी योजना तयार गरेको छ । कम्पनीले तयार पारेको योजनामा प्योर इलेक्ट्रीक कारभन्दा प्लगइन हाइब्रिड कार धेरै बिक्री गर्ने लक्ष्य लिएको हो ।
कम्पनीले सन् २०२३ को तुलनामा झण्डै ११ लाख यूनिट कार धेरै बिक्री गर्ने आक्रमक लक्ष्य निर्धारण गरेको छ । गत वर्ष कम्पनीले ३१ लाख २४ हजार यूनिट कार बिक्री गरेको थियो ।
बीवाइडीले आफ्ना सप्लायरहरुलाई ४२ लाख गाडीको लागि आवश्यक सामाग्री सप्लाई गर्ने योजना दिएको हो । कम्पनीले लक्ष्य राखेको ४२ लाख भेहिकल मध्ये २० लाख ब्याट्री इलेक्ट्रीक भेहिकल र २२ लाख प्लगइन हाइब्रिड इलेक्ट्रीक भेहिकल बिक्री गर्नेछ ।
अघिल्लो वर्ष बिक्री भएको ३१ लाख २४ हजार ४१७ वटा भेहिकल मध्ये १५ लाख ७४ हजार ८२२ युनिट ब्याट्री इलेक्ट्रीक भेहिकल र १४ लाख ३८ हजार ८४ वटा प्लगइन हाइब्रिड भेहिकल थिए । साथै, ११ हजार ५११ यूनिट कमर्शियल गाडी पनि कम्पनीले बेचेको थियो ।
बीवाइडी बिक्री लक्ष्यमा ३३ प्रतिशतले बृद्धि गरेको हो । कम्पनीले २७ प्रतिशत ग्रोथ ब्याट्री इलेक्ट्रीक र ५३ प्रतिशत प्लगइन हाइब्रिडमा हुने प्रक्षेपण गरिएको छ ।
बीवाइडीले सन्् २०२४ को पहिलो हाफसम्म आन्तरिक रुपमा १० प्रतिशतले ब्याट्रीको मूल्य घट्ने प्रक्षेपण गरेको छ । कम्पनील दोस्रो हाफमा थप १० प्रतिशतले ब्याट्रीको मूल्य घट्ने अनुमान गरेको छ । जसले गर्दा आगामी दिनहरुमा बीवाइडीका न्यू इनर्जी भेहिकलहरु अझै कम मूल्यमा उपलब्ध हुने अनुमान गरिएको छ ।
बीवाइडीले यस वर्ष आन्तरिक बजारभन्दा अन्तराष्ट्रिय बजारमा बिक्री बढ्ने जनाएको छ । बीवाइडीको उजबिकिस्थानमा रहेको नयाँ प्लान्टबाट उत्पादन शुरु भएको छ । थाइल्याण्ड, ब्राजिल र हंगेरीमा नयाँ प्लान्ट निर्माण भइरहको छ ।
बीवाइडीको थाइल्याण्ड प्लान्टबाट यसै वर्षदेखि मासिक १० हजार यूनिट कार उत्पादन हुनेछ । यसको वार्षिक क्षमता १ लाख ५० हजार यूनिट रहेको बताइन्छ ।
नेपाली बजारमा पनि बीवाइडीले निकै आक्रमक रणनीति तयार पारेर गाडी बिक्री गर्दै आएको छ । कम्पनीले बिक्री गर्ने एटो थ्री र डल्फीनले निकै राम्रो बिक्री पाइरहेको छ ।

