काठमाडौं । वेलायती रिसर्च एजेन्सी ‘थचम रिसर्च’ले गरेको एक अध्ययनले परम्परागत कारको तुलनामा न्यू इनर्जी भेहिकलको मर्मत खर्च धेरै हुने देखाएको छ । एजेन्सीले रिसर्च गर्दा पेट्रोलियम पदार्थबाट चल्ने र विद्युतीय कारको समान किसिमको क्षतीलाई मर्मत गर्न लाग्ने खर्चमा २५.५ प्रतिशत बढी खर्च ईभीमा आउने देखाएको हो ।
खर्चसँगै गाडी मर्मत लाग्ने समय पनि विद्युतीय कारको लागि धेरै हुने अध्ययनले देखाएको छ । सामान्यतया एउटै किसिमको दुर्घटना भएका दुई कारमा विदुतीय कार बनाउन १४ प्रतिशत बढी समय लाग्ने थचमको रिपोर्टले देखाएको हो ।
रिसर्चका अनुसार विद्युतीय कारको सबैभन्दा ठूलो चुनौती ‘हाइभोल्टेज ब्याट्री मेन्टीनेन्स’मा देखिएको छ । विद्युतीय कारको सबैभन्दा ठूलो लगानी नै ब्याट्रीमा भएको र दुर्घटना भएको खण्डमा त्यसको मर्मतमा खर्च पनि धेरै आउने छ । रिपोर्टले वेलायतमा हाइभोल्टेज ब्याट्री रिप्लेसमेन्ट कस्ट पनि साइज अनुसार १८ हजारदेखि ३७ हजार ५ सय अमेरिकी डलरसम्म लाग्ने उल्लेख गरेको छ ।
विद्युतीय कार मर्मत गर्दा आउने अर्को समस्या सम्भावित आगलागि जोखिम पनि हो । दुर्घटनामा परेको विद्युतीय गाडीलाई ४८ घण्टासम्म छुट्टै क्वारेन्टाइनमा बाहिर स्टोरेज गर्नु पर्छ । यसलाई अन्य बस्तु भन्दा १५ मिटरको दुरीमा राखेर नियम गर्नु पर्ने हुन्छ ।
ईभीको सर्भिस सेन्टर चलाउन धेरै ठूलो एरिया चाहिने भएको कारण रिपेयर सेन्टरको क्यापासिटीमा ९८ प्रतिशत कमी आउने अध्ययनले देखाएको छ । यी सबै कारण विद्युतीय कारको मर्मत खर्च धेरै लाग्ने रिपोर्टमा दाबी गरिएको छ ।
बेलायती अध्ययन अनुसार नेपालमा कुनै पनि ब्राण्डले अहिलेकै अवस्थामा सर्भिस सेन्टरहरु निर्माण गरेका छैनन् । एकाध ब्राण्ड बाहेक विद्युतीय कार बिक्री गर्नेहरुको सामान्य सर्भिस सेन्टर समेत भेट्टाउन सकिदैन ।