चांगनको ५ हजार डलर पर्ने कार, भयो ब्यापक मूल्य कटौती

काठमाडौं । चिनियाँ बजारमा विद्युतीय कारको बिक्रीमा उच्च गिरावट आएसँगै उत्पादकहरुले ब्यापक मूल्य कटौती गरेका छन् । ठूलादेखि साना कार निर्माताले १५ देखि २० प्रतिशतसम्मले मूल्य कटौती गरेका हुन् ।

चांगनले आफ्नो मिनी कार लुमिनमा एकै पटक १२ हजार युवान मूल्य कटौती गरेसँगै साना ठूला सबै किसिमको विद्युतीय कारमा मूल्य कटौतीको श्रृखला सुरु भएको हो ।

यसअघि चांगन लुमिनको मूल्य चीनमा ४९ हजार ९०० युवान रहेकोमा एकै पटक घटाएर ३७ हजार ९०० युवान (५ हजार २५० अमेरिकी डलर) निर्धारण गरिएको छ ।

चिनियाँ मिडियाहरुका अनुसार एकै पटक १ हजार ६५० अमेरिकी डलर मूल्य कटौती गरेर कम्पनीले प्रतिस्पर्धीहरुलाई अफ्ठ्यारोमा परेको जनाएका छन् । उनिहरुले यसलाई आश्चर्यजनक छुट भनेका छन् ।

चांगन लुमिन विभिन्न रेन्जमा उपलब्ध रहेको छ । कम्पनीले छुट रकम पनि त्यहि अनुसार दिएको हो । फुल चार्जमा १५५, २१० र ३०१ किलोमिटर रेन्जमा लुमिन कार किन्न सकिन्छ । यसमा १२.९२, १७.६५ र २८ किलोवाट आवरको तीन फरक साइजको ब्याट्री दिइएको छ ।

डेडिकेटेड ‘इपीएजिरो अल इलेक्ट्रीक प्लेटफर्ममा तयार भएको लुमिन कारमा ३० र ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । टप स्पीड क्षमता १०१ किलोमिटर प्रतिघन्टासम्म रहेको लुमिन कार आधुनिक फिचर लोडेड मोडल हो ।

कम्पनीले यसमा १४ इन्चको ह्वील दिएर तयार गरेको छ । साथै, इन्टेरियरमा १०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको डिजिटल क्लष्टर दिएको छ ।


Back_to_top