सिंहदरवार भित्र मोटरसाइकल पार्किङले घेरिएको फास्ट चार्जर

काठमाडौं । सरकारले विद्युतीय सवारीसाधनको प्रयोगलाई प्रोत्साहन गरेपनि आफुले नकिन्दा सिंहदरवार भित्र रहेका चार्जर सधैं खाली जस्तै भेटिन्छन् । अहिले सिंहदरबार भित्र ४ स्थानमा डिसी फास्ट चार्जर जडान गरिएको छ । तर, ती चार्जरमा गाडी हुँदैनन् । मोटरसाइकल पार्किङले भरिएको हुन्छ ।

अर्थमन्त्रालयमा रहेको चार्जर

अर्थ मन्त्रालय र ऊर्जा मन्त्रालयमा दुई दुई वटा गन भएको चार्जर जडित छ । ऊर्जा मन्त्रालयसँग केही यूनिट बिद्युतीय गाडी रहेको र बेलाबखतमा बाहिरबाट आउने गाडी पनि चार्ज गर्नु पर्ने भएको कारण फाट्टफुट्ट गाडी चार्ज हुने गरेको त्यहाँ रेखदेख गर्ने कर्मचारी बताउँछन् ।

ऊर्जा मन्त्रालयमा रहेको चार्जर

अर्थमन्त्रालयमा जडान भएको चार्जर सधैं खाली जस्तै देखिन्छ । त्यहाँ गाडीको संख्या धेरै हुने र पार्किङ अभाव हुँदा सधैं चार्जर अगाडि ठूलो संख्यामा मोटरसाइकल पार्किङ गरिएको हुन्छ ।

परराष्ट्र मन्त्रालयमा रहेको चार्जर

अर्थमन्त्रालयको भन्दा पनि विजोग त परराष्ट्र मन्त्रालयमा देखिन्छ । परराष्ट्रको पार्किङमा बनाइएको चार्जिङ स्टेशनमा पुग्न कठिन छ । त्यहाँ पार्किङ गरिएको मोटरसाइकल छिचोल्न हम्मेहम्मे पर्छ । त्यहाँ रेखदेख गर्ने कर्मचारीका अनुसार यो बनाएर परिक्षण भएपछि गाडी चार्जिङको लागि आएको छैन ।

योजना आयोगमा रहेको चार्जर

सरकारले सिंहदरवारमा बनाएको चार्जरले कसैलाई पनि फाइदा पुर्याउन सकेको छैन । यहि चार्जर बाहिर सार्वजनिक स्थानमा भएको भए धेरे गाडीले सेवा लिन पाउँथे ।


Back_to_top