काठमाडौं । बीपी राजमार्गमा पुनर्निर्मित ट्रयाकबाटै सवारी साधन संचालन हुन थालेका छन् ।
२ वर्षअघि आएको बाढीले बीपी राजमार्गको ३० किलोमिटर खण्डमा क्षति पुर्याएपछि अस्थायी डाइभर्सन निर्माण गरी सवारी संचालनमा गरिँदै आइएको थियो । गत असोज ८/२ गते रोशीमा आएको बाढीले डाइभर्सन बगाएपछि अहिले पुनर्निर्माण भइरहेको ट्रयाक सवारी संचालन गरिएको हो ।
क्षतिग्रस्त ३० किमी सडकलाई ५ प्याकेजमा विभाजन गरी हाल पुनर्निर्माण भइरहेको छ । सडकको काममा असर नपर्ने गरी सवारी संचालनको व्यवस्था मिलाइएको सडक डिभिजन भक्तपुरले जनाएको छ ।
चौकीडाँडा, पिन्थली र डालाबेँसी–पिप्ले खण्डमा भने डाइभर्सन मार्फत यातायात संचालन गरिएको छ । यी बाहेक अन्त्र सबै ठाउँमा पुनर्निर्माण भइरहेको सडकबाट गाडी गुड्ने व्यवस्था मिलाइएको हो । केही ठाउँमा गत भदौदेखि नै पुनर्निर्मित ट्रयाकबाट गाडी संचालन गरिएको थियो ।
कार्यालयका प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले एक/दुई ठाउँ बाहेक अन्यत्र पुनर्निर्मित सडकबाटै सवारी संचालनको व्यवस्था मिलाइएको छ ।
‘अहिले एक दुई ठाउँ बाहेक अन्यत्र पुनर्निर्मित सडकबाटै सवारी संचालनको व्यवस्था मिलाइएको छ । चौकीडाँडा र पिन्थलीमा भिरालो भएकाले हाल मर्मत भइराखेकाले डाइभर्सनसमेत प्रयोग गरिएको । त्यस्तै, डालाबेँसी–पिप्ले सडकखण्डको करिब २०० मिटरमा डाइभर्सन गरिएको छ,’ उनले भने । हाल पुनर्निर्मित सडकबाटै आवागमन गराइए पनि जाम नहुने योगेशको भनाइ छ ।
उनले दशैँलाई मध्येनजर गर्दै थप मर्मत कार्य भइरहेको बताए । सकेसम्म राजमार्ग अवरुद्ध हुन नदिनेगरी तथा अवरुद्ध भइहाले विविध ‘इक्युपमेन्ट’ प्रयोग गरी सकेसम्म आधा घण्टाभित्र सञ्चालनमा ल्याउने तयारीसमेत गरिएको यागेशले बताए ।
उनले भने, ‘हाल दशैँलाई लक्षित गरी वर्षालगायत कारण अवरुद्ध भइहाले आधा घण्टामै खुलाउने गरी तयारी भइसकेको छ, यसका लागि आवश्यक इक्युपमेन्टसमेत स्ट्याण्डबाई अवस्थामा राखिएको छ ।’
बीपी राजमार्गको क्षतिग्रस्त क्षेत्रको अधिकांश स्थानमा ग्राभेलसम्मको काम तथा केही स्थानमा भने ठूला ढुङ्गा राखेर सडक तयार गरिएको हो । हाल वर्षायामअघि सात मिटर उचाइसम्म सडक बनाएर ग्राभेल राखिएको छ भने हिउँद लाग्दा खोलाबाट करिब १० मिटर उचाइसम्म सडक बनाएर कालोपत्र गरिने जनाइएको छ ।
कतिपय स्थानमा आरसीसी वालको फाउन्डेसन पूरा भई अन्य काम भइरहेको छ भने ट्रयाक निर्माण भएका सडकमा ग्राभेल हालेकाले सवारीसाधन संचालनमा कुनै समस्या आउने छैन ।
निर्माणाधीन बीपी राजमार्गको हालसम्म झण्डै आधा काम सम्पन्न भएको छ । कुल ३० किमी सडकलाई ५ खण्ड (काभ्रेतर्फ ४ र सिन्धुलीतर्फ १) मा विभाजन गरी पुनर्निर्माण भइरहेकाे छ ।
भकुन्डेबेँसी-चारसयबेँसी ११ किमीको ठेक्का ठेक्का लामा-नवकान्तिपुर जेभीले १ अर्ब ३३ करोड ५२ लाख ९३ हजार २८७ रुपैयाँमा (भ्याटसहित) पाएको छ । यो खण्डको काम २ वर्ष (२०८४ असार १७ गते) भित्र सम्पन्न गर्नुपर्नेछ ।
त्यस्तै, चारसयबेंसी-डालाबेँसीसम्म ८.५ किमीको ठेक्का खानी-कमलजित-एवान जेभीले १ अर्ब ४२ करोड ३७ लाख ४८ हजार ७५९ रुपैयाँमा पाएको छ । यो खण्ड २०८४ जेठ २८ भित्र निर्माण सम्पन्न गर्नुपर्नेछ ।
काभ्रेतर्फकै पिप्ले (सुख्खापहिरो)-डालाबेँसी २.३ किमीको ठेक्का उमा एन्ड कम्पनी-भण्डारी-अमरज्योति जेभीले ६८ करोड ८० लाख रुपैयाँमा पाएको छ । यसको काम २०८४ कात्तिक २६ गतेसम्म सम्पन्न गर्नुपर्नेछ ।
पिप्ले-बर्खेखोला ३.२ किमी सडक पुनर्निर्माण जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले गरिरहेको छ । यसको ठेक्का जापानी कम्पनी सिमिजु कर्पोरेसनले पाएको छ।
सिन्धुलीतर्फको बर्खेखोला-नेपालथोक ५ किमीको ठेक्का खरिढुंगा/घिसिङ/क्षितिज जेभीले ६१ करोड १४ लाख रुपैयाँमा ठेक्का पाएको छ ।
बीपी राजमार्ग संघीय राजधानी काठमाडौंलाई मध्यपहाडी तथा पूर्वी नेपालसँग जोड्ने सबैभन्दा छोटो सडक हो । यस सडक हुँदै दैनिक ५ हजार बढी सवारी साधन आवतजावत गर्छन् ।
जापान सरकारको अनुदान सहयोगमा आर्थिक वर्ष २०५३/५४ बाट बीपी राजमार्ग (धुलिखेल-सिन्धुली-बर्दिवास १६० किमी सडक) निर्माण कार्य सुरू गरिएको थियो । खण्डखण्ड विभाजन गरी निर्माण सम्पन्न राजमार्गको २०७२ असार १८ गते औपचारिक रूपमा जापानले नेपाल सरकारलाई हस्तान्तरण गरेको थियो ।

