काठमाडौं । शिवरात्रिको अवसरमा काठमाडौँको पशुपति क्षेत्रमा चल्ने सवारीसाधनलाई ट्राफिक प्रहरीले विभिन्न १२ स्थानबाट डाइभर्ट गरिरहेको छ ।
पुरानो बानेश्वर, सिनामंगल, मैतिदेवी मन्दिर, ज्ञानेश्वर, चावहिल, सिफल चौर र लामापोखरी लगायतका ठाउँबाट पाशुपत क्षेत्रबाट सवारी डाइर्ट भइरहेका छन् ।
सवारी व्यवस्थापन गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयले पशुपति क्षेत्रमा ५१३ जना ट्राफिक परिचालन गरेको जनाएको छ । ट्राफिक प्रहरीहरु शुक्रवार बिहान ३ बजेबाट नै पशुपति क्षेत्रमा खटिएका छन् ।
मालवाहक सवारी साधनहरु तिनकुने, जोरपाटी स्थित नारायणटार, चुच्चेपाटी, चावहिल, सिनामंगल पुल र बसुन्धाराबाट गौशालातर्फ प्रवेश गर्न पाउँदैनन् ।
पशुपति वरपर जाने मालवाहक सवारीलाई धुम्बाराहिमा मेला अवधिभर कुर्नुपर्नेगरी ट्राफिक व्यवस्थापन योजना लागु गरिएको छ । कोटेश्वरबाट बौद्ध र सुकेधारा जाने मालवाहक गाडीहरु जडिबुटीबाट काँडाघारी हुँदै संचालन हुनेछन् ।
पाशुपत क्षेत्रमा ६ ठाउँमा पार्किङ स्थल तोकिएको छ । दर्शनार्थीहरुले सिफल चौरमा आफ्नो सवारीसाधन राख्न पाउँछन् । भण्डारखालमा सरकारी सवारी र सुरक्षाकर्मीका सवारी पार्किङ गर्न पाइने छ । तिलगंगाको खाली ठाउँ र करिडोरमा तिर्थयात्री, दर्शनार्थी र पर्यटकका सवारी पार्किङ गर्न मिल्नेगरी पार्किङ स्थल निर्धारण गरिएको छ ।


