काठमाडौं । अटोमोवाइल ब्यवसायीहरुको साझा संस्था नाडाले २६ बुँदे माग राखेको छ । नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालका अध्यक्ष करण चौधरीको नेतृत्वमा गएको एक प्रतिनिधी मण्डलले उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठसँग भेटेर आफ्ना माग राखेका हुन् ।
उक्त भेटघाटमा अध्यक्ष चौधरीले मन्त्रालयसँग सम्बन्धित नाडाको २६ बुँदे मागसहितको सुझाव पेश गरेका हुन् । उनले सडक मर्मत सम्भार दस्तुरको प्रयोग, सवारी साधन कर, सवारी साधनहरु सडकमा गुडेपछि मात्रै सवारी कर लाग्ने व्यवस्था गर्न माग गरेका छन् ।
त्यस्तै अटोमोवाइल कम्पनीहरुको दर्ता प्रक्रिया सहज, अनिर्वाय इम्बोष्ड नम्बरको प्रयोग, दुइपाङ्ग्रे सबारी साधनहरुलाई अत्यावश्यकिय साधनको रुपमा राख्नु पर्ने माग गरेका छन् । त्यसका अलावा सवारी साधनको कर तिर्ने व्यवस्था सहज हुनु पर्ने, सहज नामसारी प्रक्रिया, अनलाइन मार्फत कर तिर्ने व्यवस्था र जरिवानाको ब्यस्था सुधार गर्न माग राखेका छन् ।
त्यसैगरी सरुवा सहमती, सवारी साधन पैठारीकर्ताहरुको लागि छुट्टै डेस्कको स्थापना, सेवाग्राहीलाई सुविधा, रसिदमा एकरुपता, मोटरसाइकल चालक र यात्रु दुबैलाई अनिर्वाय हेल्मेट, सहज लाइसेन्स वितरण हुनु पर्ने सुझाव यातायात मन्त्रालयलाई बुझाएको हो ।
दुई पाँगे्र सवारीसाधनहरुको बर्गिकरण, सहजीकरणको भूमिका निर्वाह, उच्चस्तरका सवारी साधनहरुको लागि हरियो स्टिकर दिने प्रक्रिया र पाकिङ्ग स्थलको समस्या समाधन गर्न सुझाव दिइएको छ । विशेष आर्थिकक्षेत्र वा औद्योगिक ग्रामको निर्माण र चार्जिङ स्टेशनको निर्माणमा जोड दिन नाडाले आग्रह गरेको छ ।
सवारी चालकको लागि तालिमको व्यवस्था, वर्कशप ब्वयस्थापन र रोजगारीको व्यवस्था, अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थल निर्माण र सिमेण्ट मिक्सरको काम गर्ने सवारी साधनको आयातका सम्बन्धमा सुझावहरु पेश गरेको छ ।
छलफलमा उपप्रधानमन्त्री, भौतिक पूर्वाधार तथा यातायात मन्त्री महासेठले सेवाग्राहीलाई सुविधा दिनु पर्ने विषयमा विशेष चासो राख्दै नाडाले राखेका उक्त सुझावहरुका सम्बन्धमा आवश्यक पहल गरिने आश्वासन दिए ।
कार्यक्रममा मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा विभागका अन्य अधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।


