भारतीय रिसर्च एजेन्सीले प्रमाणित गरेको रेन्ज किन पाइँदैन सडकमा

काठमाडौं । अटोमोटिभ रिसर्च एशोसिएशन अफ इन्डिया (एआरएआइ)ले विद्युतीय कारको रेन्ज टेष्टमा पनि काम गर्दै आएको छ । भारतमा उत्पादन हुने हरेक कारको एआरएआइले रेन्ज टेष्ट गर्छ ।

विशेषगरी भारतीय बजारमा बिक्रीका लागि तेस्रो देशबाट ल्याएर एसेम्बल गर्ने कारले समेत एआरएआइ परीक्षण गर्छन् । यी सबै रेन्ज टेष्टमा उत्पादक देशको वा डब्लूएलटीपीको भन्दा धेरै रेन्ज एआरएआइले देखाउँछ ।

विश्वभर बनेका निकै राम्रो रेन्ज भएका कारले पनि सडकमा १२ देखि १७ किलोवाट आवर ब्याट्रीको खपतमा १०० किलोमिटर यात्रा गर्छन् । तर, भारतीय रिसर्च एजेन्सीले औसतमा ९ देखि १० किलोवाट आवर ब्याट्री खपतमै १०० किलोमिटर रेन्ज दिने प्रमाणित गर्छ ।

वास्तविक सडकमा पाइने रेन्जको तुलनामा निकै धेरै रेन्ज प्रमाणित हुँदा भारतीय एआरएआइको टेष्टलाई विश्वसनीय बनाउन सकेको छैन । यसले बिक्रेता र क्रेता दुवैमा अन्योलता सृजना गर्दै आएको छ ।

कसरी गर्छ एआरएआइले रेन्ज टेष्ट

सडकमा गरिने (रियल वर्ल्ड टेष्ट) नगरेर एआरएआइले आइडल कन्डिसनमा परीक्षण गर्ने गरेको छ । उसले च्यासिस डाइनामो मिटरको सहयोगले गरिने यो परीक्षण १९ मिनेटमा १० किलोमिटर यात्रा पूरा गर्ने स्पीड ३१ किलोमिटर प्रतिघण्टामा भएको हुन्छ । त्यसैगरी, क्रमिक रूपमा अधिकतम ९० किलोमिटर प्रतिघण्टाको स्पीडसम्म राखेर टेष्ट गरिन्छ ।

ल्याबमा मात्रै परीक्षण हुने भएको कारण रेन्ज धेरै देखिन्छ । वास्तविक सडक भएको स्थानको उचाइ, त्यहाँको मौसम, सडकको अवस्था, लोड लगायतले सडकमा पाइने रेन्ज फरक पर्छ ।

रेन्ज फरक

उदाहरणको रूपमा भारतमा अहिले बिक्री हुँदै आएको एमजी जेडएस ईभी ४४.५ किलोवाट आवर ब्याट्री भएको एसयूभीले सिंगल चार्जमा २६४ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको थियो । त्यही मोडललाई एआरएआइले ४१९ किलोमिटर प्रमाणित गरेको छ ।

अहिले भारतमा बनेका टाटा, सिट्रोन, एमजी लगायतका ईभीले पनि एआरएआइले भने जति रेन्ज दिन सकेका छैनन् ।


Back_to_top