सीजीले नेपाल ल्यायो आधा दर्जन कार ब्राण्ड, कमर्शियलमा पनि आक्रमक

काठमाडौं । कारको व्यापारमा हातहालेको दुई वर्षभन्दा कम समयमै सीजी मोटर्सले आधा दर्जन ब्राण्ड नेपाल ल्याउने पक्का भएको छ । कम्पनीले दुई वर्षअघि नेटा ब्राण्डबाट विद्युतीय कार आयात थालेको थियो ।

सीजी मोटर्सले अहिले ग्वान्झाओ अटोमोबाइल कर्पोरेशनको इलेक्ट्रीक ब्राण्ड एवोन पनि नेपालमा बिक्री सुरू गरेको छ । कम्पनीले नेपाल ल्याएको एवोन-वाइ अहिले बिक्री वितरण हुँदै आएको छ ।

यी दुई ब्राण्डसँगै सीजी मोटर्सले स्मार्ट ब्राण्डका एसयूभी पनि नेपाली बजारमा उपलब्ध गराउँदैछ । त्यसको लागि कम्पनीले काठमाडौंको थापाथलीमा नयाँ शोरुम निर्माण गरिरहेको छ ।

सीजी मोटर्सले केही दिनअघि मात्रै थप दुई ब्राण्ड नेपाल ल्याउन सम्झौता गरेको छ । कम्पनीले लोटस र एक्सपेङ ब्राण्डका विद्युतीय कार पनि नेपाली बजारमा उपलब्ध गराउने जनाएको छ । यी दुवै ब्राण्ड पनि स्मार्ट जस्तै प्रिमियम सेग्मेन्टमा गनिन्छन् ।

साथै, कम्पनीले चाँडै ट्याक्सीको रूपमा प्रयोग हुने विद्युतीय कार ब्राण्ड नेपाल ल्याउन अन्तिम तयारी गरिरहेको बताइन्छ । कम्पनीले आधिकारिक रूपमा यसको जानकारी नदिए पनि गाडी आयात प्रक्रिया नै अगाडि बढेको सूचना बाहिर आएको छ ।

इलेक्ट्रीकमा मल्टी ब्राण्ड

सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले नेटा भी मोडल लन्च गर्दा नै भनेका थिए, ‘यो सुरूआत हो । हामी मल्टी ब्राण्ड कन्सेप्टमा काम गर्ने योजनामा छौं । निकट भविष्यमा नै थुप्रै ब्राण्ड सीजी मोटर्सको छाता भित्र पाउनु हुनेछ ।’

उनले घोषणा गरेको दुई वर्षभन्दा कम समयमा नै विद्युतीय कार ब्राण्ड आयातमा सीजीले ठूलो फड्को मारेको छ । तर, चौधरीले भने जस्तै मल्टी ब्राण्ड शोरुममा जान्छ वा जान्न अहिल्यै भन्न सकिने अवस्था छैन ।

ध्यान लाइट कमर्शियल सेग्मेन्टमा

सीजीले कारको बिक्रीमा मात्रै आफूलाई सीमित गरेको छैन । उसले लाइट कमर्शियल गाडीको बिक्रीमा पनि आफूलाई आक्रमक बनाएको छ । नेटा भीपछि नेपाल आएको केवाइसी भ्यानले सार्वजनिक यातायातमा ठूलो छलाङ लगाउन सफल भएको छ ।

केवाइसीको सफलतासँगै किङलङ ब्राण्डका हाइरुफ माइक्रो भ्यानहरू कम्पनीले बिक्री थालेको हो । अहिले १४ र १९ सिट क्षमताका किङलङका माइक्रो भ्यान बजारमा उपलब्ध छन् ।


Back_to_top