टेल्जी स्कुटरमा १ लाख किलोमिटर वारेन्टि, लाइफ टाइम सर्भिस नि:शुल्क

काठमाडौं । योम मा ई मोटर्सले नेपालमा नै पहिलो पटक विद्यूतिय स्कुटरमा १ लाख किलोमिटर वारेन्टि दिने घोषणा गरेको छ । कम्पनीले टेल्जी स्कुटरमा ग्राहकलाई १ लाख किलोमिटरसम्म वारेन्टि दिने घोषणा गरेको हो ।

योम मा ई मोटर्सले आज एक कार्यक्रम आयोजना गर्दै १ लाख किलोमिटर वारैन्टि दिने जानकारी दिएको हो ।

उक्त कार्यक्रममा बोल्दै कम्पनीका निर्देशक संजिव शिल्पकारले भने, ‘नेपालमा नै पहिलो पटक दुईपाँग्रेमा १ लाख किलोमिटर वारेन्टी प्रदान गर्न लागेका छौं । हाम्रो स्कुटरमा प्रयोग भएको लिथियम आइरन फोस्फेट ब्याट्रीलाई लामो समयसम्म परिक्षण गरेर हामीले १ लाख किलोमिटर वारेन्टि दिने भएका हौं, अव हाम्रा ग्राहकले ढुक्क भएर स्कुटर किन्न र चलाउन सक्नेछन् ।

कम्पनीका अनुसार ५ वर्ष वा १ लाख किलोमिटर जुन पहिला हुन्छ त्यसमा वारेन्टि लागू हुने कम्पनीको भनाई छ । यस्तो वारेन्टिले ग्राहक वर्गमा रहेको ब्याट्री फेर्दा धेरै खर्च लाग्छ भन्ने भ्रम चिर्ने कम्पनीको विश्वास छ ।

सामान्यतया एक स्कुटरको आयू नै एकलाख किलोमिटर हुने बताउँदै, ‘हामीले किफायती मूल्यमा स्कुटर उपलब्ध मात्र नगराएर हाम्रा ग्राहकहरु सन्तुष्ट हुनेगरि सर्भिसको काम गर्दै आएका छौ । यसमा पनि हामीले अव १ लाख किलोमिटर वा ५ वर्ष जुन पहिला पुग्छ त्यसको आधारमा हामिले ब्याट्रीमा वारेन्टि दिन लागेको हौं । यसले ग्राहकलाई निकै फाइदा पुग्नेछ, सिल्पकारले भने ।

कम्पनीले अपडेट सहित ल्याएको टेल्जी लायन स्कुटरमा फ्रन्ट भाइजर, हिल होल्ड असिष्ट, वाइडर टायर, स्मुथ एशिलरेशन, ब्राइटर (म्याट्रिक्स) हेडल्याम्प, नयाँ टेलिस्कोपिक सस्पेन्सन, नयाँ रिमोट की लगायत फिचर रहेको कम्पनीले जनाएको छ ।

टेल्जी लायनमा ४ किलोवाट पावरको मोटर र ३.३३ किलोवाट आवरको लिथियम आइरन फोस्फेट ब्याट्री प्याक रहेको छ । यसलाइ एकपटक फुलचार्ज गरेर १६० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीले जनाएको छ । यो स्कुटरलाई घरमा नै ३ घन्टामा फुल चार्ज गर्न सकिन्छ ।

टेल्जी लायन नयाँ भर्सनमा ब्लुटूथ कनेक्टिभिटी, स्टेरियो स्पीकर जस्ता फिचर दिइएको छ । यसका अलावा की-लेस स्टार्ट, डिस्क ब्रेक, एलईडी डिस्प्ले, एलईडी लाइट, ट्युबलेस टायर, एन्टी थेफ्ट अलार्म, ५ स्टेप एड्जष्टेबल सस्पेन्सन, फास्ट चार्जिङ पोर्ट, ठूलो अन्डर सिट स्पेस लगायतका महत्वपूर्ण फिचरहरू समावेश छन् । यो स्कुटरको मूल्य ३ लाख ३३ हजार रुपैयाँ निर्धारण गरेर विक्री गर्दै आएको कम्पनीले बताएको छ ।

नयाँ वर्ष स्कीममा टेल्जी लायन किन्ने ग्राहकले नगद १८ हजार रुपैयाँ छुटका साथै, १ वर्षको फुल इन्स्योरेन्स, रोड ट्याक्स निशुल्क प्राप्त गर्नेछन् । यसका साथै हरेक टेल्जी स्कुटरका ग्राहकले लाइफ टाइम नि:शुल्क सर्भिस समेत पाउँने कम्पनीले बताएको छ । कम्पनीले काठमाडौं उपत्यका भित्र रोड साइड सर्भिसको समेत नि:शुल्क व्यवस्था गरेको छ ।

टेल्जी ब्रान्ड चिनमा टप तीनमा पर्ने ब्रान्ड हो । यो ब्रान्ड युनाइटेड नेशनको इन्भाइरोमेन्ट ई मोविलिटी प्रोगामको पार्टनरको रुपमा रहेको छ ।


Back_to_top