काठमाडौं । पछिल्लो १ वर्षमा भारतमा विद्युतीय सवारी साधन (ईभी)को बिक्री झन्डै दोब्बरले बढेको छ । भारतीय आर्थिक वर्ष २०२४ (अप्रिल २०२३ देखि मार्च २०२४)मा ईभीको बिक्री ९१.१ प्रतिशतले बढेको हो ।
सोसाइटी अफइन्डियन अटोबाइल म्यानुफ्याक्चर्स्का अनुसार आर्थिक वर्ष २०२४ मा कुल ९० हजार ९९६ वटा ईभी बिक्री भएको हो । यद्यपि, यो संख्या भने भारतमा बिक्री हुने कुल प्यासेन्जर भेहिकलको २.३ प्रतिशत मात्र हो । अघिल्लो आवमा भारतमा कुल ४७ हजार ५५१ ईभी बिक्री भएको थियो ।
भारतीय ईभी बजारमा टाटा मोटर्सको वर्चश्व रहेको छ । टाटाले गत आर्थिक वर्षमा सबैभन्दा ६४ हजार २१७ वटा ईभी बिक्री गरेको हो । टाटाले अघिल्लो आर्थिक वर्षमा ३८ हजार ७२८ वटा ईभी बिक्री गरेको थियो । ६५.८२ प्रतिशतले ईभीको बिक्री बढाएको टाटाले भारतीय बजारमा टिगोर ईभी, टियागो ईभी, पन्च ईभी र नेक्सन ईभी गरी ४ वटा मोडलको ईभी बिक्री गरिरहेको छ ।
यस्तै, भारतमा दोस्रो धेरै संख्यामा ईभी बेच्ने कम्पनी एमजी मोटर्स इण्डिया हो । अघिल्लो वर्ष ४ हजार ५५० वटा ईभी बिक्री गरेको एमजीले यो वर्ष ११ हजार ६११ वटा ईभी बिक्री गर्न सफल भएको छ । गत वर्षको तुलनामा १५५.१९ प्रतिशत धेरै हो । एमजीले पछिल्लो समयमा भारतमा मिनी ईभी कोमेट राम्रो संख्यामा बिक्री गरिरहेको छ ।

यस्तै, तेस्रोमा धेरै संख्यामा ईभी बिक्री गर्नेमा भारतको सबैभन्दा पहिलो ईभी उत्पादक महिन्द्रा एण्ड महिन्द्रा रहेको छ । महिन्द्राले अघिल्लो आर्थिक वर्षमा ४८५ वटा ईभी बिक्री गरेकोमा गत आर्थिक वर्षमा ११५१.७५ प्रतिशतले बिक्री वृद्धि गर्दै ६ हजार ७१ वटा ईभी बिक्री गर्न सफल भएको छ । महिन्द्राले एकवटा मात्र ईभी मोडल एक्सयूभी ४०० बिक्री गरिरहेको छ ।

यसैगरी, चौथोमा धेरै बिक्री सिट्रोन इण्डियाको रहेको छ । सिट्रोनले अघिल्लो आर्थिक वर्षमा २०९ वटा ईभी बिक्री गरेकोमा गत आर्थिक वर्षमा सिट्रोनको बिक्री ८७२.२५ प्रतिशतले बढ्दै २ हजार ३२ वटा पुगेको छ । सिट्रोनले पनि ईसीथ्री मोडलको ईभी मात्र बिक्री गरिरहेको छ ।
हुन्डाई मोटर्स इण्डिया पाँचौं धेरै ईभी बिक्री गर्ने कम्पनी बनेको छ । हुन्डाईले गत आर्थिक वर्षमा १ हजार ८२९ वटा ईभी बिक्री गरेको हो । हुन्डाईले भारतमा आयोनीक ५ र कोनो ईभी गरी दुई मोडलको ईभी बिक्री गरिरहेको छ ।

छैटौं धेरै ईभी चिनियाँ न्यू इनर्जी भेहिकल कम्पनी बीवाइडीले बिक्री गरेको छ । बीवाइडीले १ हजार ७७४ वटा ईभी बिक्री गरेको छ । सातौंमा बीएमडब्ल्यूले १ हजार ४२० वटा ईभी बिक्री गर्न सफल भएको छ ।
भारतमा आयात गरी भल्भो, मर्सिडीज बेन्ज, अउडी, पोर्से जस्ता कम्पनीहरूले पनि केहि सीमित संख्यामा लग्जरी ईभी बिक्री गरिरहेका छन् ।

