एलईडी हेडलाइटमा आयो पल्सर २२० एफ, मूल्य भने बढ्यो

काठमाडौं । बजाज अटोले आफ्नो चर्चित मोटरसाइकल पल्सर २२० एफमा एलईडी हेडलाइट दिएको छ । कम्पनीले भारतीय बजारमा एलईडी हेडलाइटसहितको अपडेटेड पल्सर २२० एफ बिक्री सुरु गरेको हो ।

कम्पनीले सन् २०२५ डिसेम्बरमा मात्रै पल्सर २०० एफलाई अपडेट गरेर बजारमा ल्याएको थियो । त्यसको ६ महिनामै कम्पनीले २२० एफलाई थप अपडेट गरेको हो ।

नयाँ पल्सर २२० एफको सबैभन्दा ठूलो परिवर्तन भनेको यसअघिको हेलोजन सेटअपलाई प्रतिस्थापन गर्दै इन्टिग्रेटेड एलईडी डीआरएलसहितको नयाँ एलईडी हेडलाइट युनिट थपिनु हो।

यो अपडेटेड लाइटलाई पुरानै परिचित सेमि फायर्ड फ्रन्ट एन्डभित्रै राखिएको छ । यो बाहेक कम्पनीले अन्य परिवर्तन भने गरेको छैन । यसअघि भने २२० एफ नयाँ ग्राफिक्स, एलईडी इन्डिकेटर र नयाँ कलर अप्सनसहित बजारमा आएको थियो ।

लाइटिङ अपग्रेडबाहेक मोटरसाइकलमा मेकानिकल रूपमा कुनै परिवर्तन गरिएको छैन । यसमा पहिलेकै २२० सीसीको सिंगल सिलिन्डर आयल कुल्ड इन्जिन प्रयोग गरिएको छ । जसले २०.९ एचपी पावर र १८.६ न्युटन मिटर टर्क उत्पादन गर्छ । यसमा ५ स्पीड गेयरबक्स जोडिएको छ ।

एलईडी हेडलाइटमा आएसँगै पल्सर २२० को मूल्य भने महँगिएको छ । गत डिसेम्बरमा आएको २२० एफको मूल्य १.२८ लाख भारू रहेकोमा अहिले ८ हजार बढेर १.३६ लाख भारु (एक्स शोरुम) पुगेको छ ।


Back_to_top