काठमाडौं । पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइए ३२० सटर लगायत संरचना हटाएको छ ।
महानगरले शनिबार डोजर प्रयोग गरी सेती नदीपट्टिको बास्तोला कम्प्लेक्सका ३२० सटर लगायत संरचना भत्काएको हो ।
महानगर पृथ्वीचोकमा अत्याधुनिक पोखरा बसपार्क निर्माण गर्ने यो्जना बनाएको छ । उक्त स्थानमा अतिक्रमण गरी संरचना बनाइएको थियो । नयाँ बसपार्क बनाउन उक्त संरचनाहरू हटाइएको हो ।
महानगरपालिका र जग्गाधनीका बीचमा अवैध संरचना हटाउने सहमति अनुसार व्यवसायीले सटर खाली गरेका थिए । संरचना भने डोजर प्रयोग गरी भत्काइएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कम्प्लेक्सका सञ्चालक र त्यहाँ व्यवसाय गरेर बसिरहेका व्यवसायीसँग निरन्तर छलफल तथा संवादपछि खाली गर्ने सहमति भएको बताए । बसपार्क निर्माण गर्ने अभियानमा सहयोग गर्ने समझदारीका साथ कम्प्लेक्स पूर्ण रूपमा हटाइएको हो ।
महानगरपालिकाले खाली गरेको बास्तोला कम्प्लेक्सको जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । वि.सं. २०३० मा बसपार्कका लागि अधिग्रहण गरिएको भए पनि पछि पोखरा उपत्यका नगर विकास समितिले अधिग्रहित जग्गाभित्र सट्टाभर्ना तथा घडेरी वितरण गर्ने निर्णय गरेको थियो।
महानगरले पछिल्लो समय जग्गा सट्टाभर्नाको निर्णयलगायतका विषयमा छानबिनका लागि पूर्वन्यायाधीशको नेतृत्वमा न्यायिक समितिसमेत गठन गरेको छ । सो समितिको प्रतिवेदन अझै पेस हुनसकेको छैन ।


