काठमाडौं । चिनियाँ स्टार्टअप इलेक्ट्रीक भेहिकल कम्पनी ह्यूमन होराइजनमा अमेरिकी कम्पनी आई अटोले लगानी गर्ने भएको छ । चीनमा लग्जरी ईभी उत्पादन गर्दै आएको ह्यूमन होराइजनले हाइफी ब्राण्डमा एसयूभी उत्पादन गर्दै आएको थियो ।
पछिल्लो समय आर्थिक समस्या झेल्दै आएको हाइफीले गत फेब्रुअरीबाट उत्पादन नै रोकेको थियो । धेरैले हाइफीले बैंकरप्सी पाइल गर्न लागेको अनुमान गरेका थिए ।
तर, कम्पनीले मे १० मा अमेरिकी मोटर उत्पादक आईअटोले ह्यूमेन होराइजनमा १ बिलियन अमेरिकी डलर लगानी गर्ने सम्झौता गरेसँगै तत्काल बैकरप्सीको हल्ला हल्लामा मात्रै सिमित भएको हो ।
उक्त सम्झौता अनुसार आईअटोले लगानीका अलावा टेक्नोलोजी र अर्डरमा समेत सघाउनेछ । यसअघि हाइफीलाई चांगानले टेकओभर गर्ने अनुमान सहितका समाचार आएका थिए । आईअटो अमेरिकाको डालावेर स्टेटमा रहेको अग्रणी अटोमोटिभ प्लेटफर्म निर्माता हो ।
सन् २०१७ मा स्थापना भएको संघाई बेसको हाइफीले सन् २०१८ मा ३ वटा कन्सेप्ट कार घोषणा गरेको थियो । कम्पनीले पहिलो क्रसओभर एसयूभी हाइफी एक्सलाई सन् २०२० सार्वजनिक गरेको थियो ।
हाइफीले आफ्नो दोस्रो प्रोडक्सन मोडलको रुपमा जेड लग्जरी सेडान लन्च गरेको थियो । कम्पनीले २०२३ को संघाई अटो शोमा इलेक्ट्रीक एसयूभी हाइफी वाईको कन्सेप्ट मोडल समेत देखाएको थियो ।

