काठमाडौं । नेपालका दुई ब्यवसायीक कम्पनी सिजी मोटर्स र एमएडब्लू ग्रुप मिलेर ल्याउन लागेको अभतार ब्राण्डमा प्रिमियम एसयूभी आउने भएको छ । नेपाली बजारमा आउन लागेको ‘अभतार वानवान’ (११) प्रिमियम एसयूभी हो ।
चिनियाँ अटोमोवाइल जायन्ट चांगान, विश्वको सबैभन्दा ठूलो लिथियम आयोन ब्याट्री उत्पादक सीएटीएल र टेक्नोलोजी जाइन्ट हुवावेको संयुक्त प्रयासमा बनेको अभतार वान-वान एक अत्याधुनिक इलेक्ट्रीक क्रसओभर एसयूभी हो ।
टेस्लाको मोडल वाईसँग सिधा प्रतिस्पर्धा गर्ने अभतार वान–वानमा स्ट्याण्डर्ड एयर सस्पेन्सन रहेको छ । सन् २०२२ मै चीनमा बिक्री सुरु भएको नेपाल आउने अभतारमा ९०.३८ किलोवाट आवरको ब्याट्री रहनेछ । उक्त ब्याट्रीलाई सिंगल चार्जमा ५५५ किलोमिटर चलाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ ।
अभतार वान–वान मोडल ७५० हाइभोल्टेज प्लेटफर्ममा बनेको हो । त्यसैले यसले २४० किलोवाटको फास्ट चार्जर सपोर्ट गर्छ । यसलाई १० मिनेट चार्जगर्दा २०० किलोमिटर रेन्ज थप्न सकिन्छ ।
अभतार वान–वानको इन्टेरियरमा १०.२५ इन्चको डिजिटल इन्ट्रुमेन्ट क्लस्टर, १५.६ इन्चको इन्फोटेन्मेन्ट स्कृन दिएको छ । पछाडि बस्ने यात्रुको लागि छुट्टै १०.२५ इन्चको डिस्प्ले स्कृन दिइएको छ । यसमा प्रयोग भएका सबै स्कृनहरु हुवावेको सफ्टवेरले संचालन गर्छ ।
![]()
प्रिमियम एसयूभीमा २ वटा वायरलेस मोवाइल चार्जिङ प्याड, रोड न्वाइज क्यान्सीलेसन तथा एक्टीभ साउण्ड इनह्याचमेन्ट सिस्टम सहितको १४ वटा स्पीकर पाउन सकिन्छ ।
हुवावेको जोयन्ट भेन्चरमा बनेकाले विद्युतीय मोडलमा टेक्नोलोजीको प्रयोग भरपुर गरिएको छ । यसमा ३४ वटा फरक सेन्सर छ, जसले कम्प्लेक्स इन्टेलीजेन्ट ड्राइभलाई सहज बनाउँछ ।

अभतार वान-वान ईभीमा ३ वटा लाइडार रहेको छ । जसले हाइवे ड्राइभ र साँघुरा बाटाहरुमा पनि चालकलाई कुनै समस्या हुँदैन ।
चांगानको अभतार वान-वानमा २३० किलोवाटको रियर ह्वील ड्राइभ मोटर रहने छ । सीएचएन प्लेटफर्ममा बनेको एसयूभीको लम्बाई ४८८० एमएम, चौडाई १९७० एमएम, उचाई १६०१ एमएमको तथा ह्वीलवेस २९७५ एमएम छ ।

