बैशाखमा सर्वाधिक आयात भएका ६ कार (सूचीसहित)

काठमाडौं । बजेट सार्वजनिक हुने मिति नजिकिएसँगै विद्युतीय गाडीको आयात बढेको छ । बैशाख महिनामा कुल एक हजार ४०४ यूनिट विद्युतीय चार पाङ्ग्रे गाडी आयात भएकोमा विभिन्न ६ मोडल १०० यूनिटभन्दा बढी आयात भएका छन् ।

बैशाखमा १०० यूनिटभन्दा धेरै आयात भएका मोडलहरुमा बीवाइडीको दुई मोडल छन् । बीवाइडीले एटो-थ्री र डल्फीन दुबै मोडलको आयात निकै राम्रो संख्यामा गरेको हो ।

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले एटो-३ को एड्भान्स र सुपेरियर भर्सन मिलाएर ३२६ यूनिट आयात गरेको भन्सार तथ्यांकमा देखिन्छ । त्यस्तै कम्पनीले डल्फीन ह्याचव्याकको आयात पनि १६० यूनिट गरेको छ । यी दुबै मोडल सर्वाधिक आयात भएको दुई मोडल भित्रै पर्छन् ।

तेस्रो धेरै आयात भएको मोडल दिपाल एस-०७ हो । नेपाल आएको छोटो समयमा नै निकै सफल भएको दिपल एस-०७ मोडल बैशाख महिनामा मात्रै १४४ यूनिट आयात भएको छ । एमएडब्लू वृद्धि कर्पले बिक्री गर्दै आएको दिपल एस-०७ एउटा मात्रै भेरियन्टमा उपलब्ध छ ।

टाटा टियागो ह्याचव्याक र विलिङ विङ्गो ह्याचव्याकको आयात बराबर देखिएको छ । दुबै मोडलको आयात समान १०२ यूनिट भएको छ । टाटाले आफ्नो सफल मोडल बैशाखमा १०२ यूनिट ल्याएको हो । टियागोसँगै प्रतिस्पर्धा गर्न आएको विलिङ बिङ्गो मोडल पनि बैशाखमा १०२ यूनिट नै आयात भएको भन्सार तथ्यांकले देखाउँछ ।

सय यूनिट आयात रहेर यो सूचीमा अटाएको अर्को मोडल ओमोडा ई-५ हो । एपीजी अटोमोवाइलले बैशाखमा ठ्याक्कै १०० यूनिट ओमोडा ई-५ नेपाल ल्याएको भन्सार तथ्यांकले देखाएको छ ।


Back_to_top