काठमाडौं । हिरो मोटरसाइकलको आधिकारिक बिक्रेता सिजी मोटर्स नियुक्त भएसँगै ब्रान्ड एम्बेसडर पनि नियुक्त गरेको छ । कम्पनीले नेपाली चलचित्र जगतका हस्ती नायक दयाह्याङ राई, गायक सुशान्त केसी र नायिका सुरक्षा पन्तलाई ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो ।
रोचक के छ भने ब्राण्ड एम्बेस्डर नियुक्त नायक दयाह्याङ राईलाई मोटरसाइकल चलाउनै आउँदैन् । केही दिनअघि सिजी मोटर्सले मोटरसाइकल सार्वजनिक गर्ने कार्यक्रममा उपस्थित भएका राईले आफुलाई मोटरसाइकल चलाउन नआउने बताएका थिए ।
कम्पनीले तीन कलाकारलाई फरक फरक मोडलका स्कुटर तथा मोटरसाइकलको एम्बेसडरको भूमिका दिएको छ । सुरक्षा पन्तलाई हिरो जुम स्कुटर, दयाह्याङ राईलाई स्प्लेन्डर र सुशान्त केसीलाई एक्सपल्सको एम्बेसडरको भूमिकामा नियुक्त गरेको कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ ।
कम्पनीले हालैमात्र नेपाली बजारमा हिरोको मोटरसाइकलको बिक्री सुरू गरेको हो । सिजी मोटर्सले हिरो मोटोकर्पसँगको सहकार्यमा नवलपरासीमा वार्षिक ७५ हजार यूनिट क्षमताको एसेम्बल प्लान्ट स्थापन गरेको छ । हाल नेपालमा बिक्री हुँदै आएको सबै मोडल नेपालमा नै एसेम्बल भएको कम्पनीको भनाइ छ ।

