अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा न्यौपाने

काठमाडौं । नेपाल अटो मेकानिक्स व्यवसायी संघको अध्यक्षमा ठाकुरप्रसाद न्यौपाने चयन भएका छन् । शनिबार सम्पन्न नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशनले न्यौपानेलाई अध्यक्षमा चयन गरेको हो । न्यौपाने यसअघिको कार्यसमितिमा महासचिव थिए । 

सर्वसम्मतिका आधारमा चयन भएको कार्यसमितिको प्रथम उपाध्यक्ष माधवबहादुर रिमाल, द्वितीय उपाध्यक्ष दिपेन्द्र बुढाथोकी, महासचिव सुशील ढकाल, सचिव सुमनप्रसाद सुवेदी, कोषाध्यक्ष मोहम्मद अस्फाक र सहकोषाध्यक्ष डालप्रसाद भट्टराई चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा मोहम्मद अयुब, इन्द्रबहादुर प्रधान, बुद्धिकृष्ण गजुरेल, बद्रीकुमार श्रेष्ठ र आस मोहम्मद चयन भएका छन् । बाँकी २ जना सदस्य कार्यसमितिले मनोनित गर्नेछ । 

नेपाल अटो मेकानिक्स व्यवसायी संघको नवौं अधिवेशन तथा २४औं वार्षिक साधारण सभाको उद्घाटन श्रम, रोजगार तथा समाज कल्याण मन्त्री गोकर्ण विष्टले गरेका थिए । 

साधारण सभाको उद्घाटन गर्दै मन्त्री विष्टले दक्ष जनशक्तिको अभाव भए तापनि लाखौ नेपाली विदेश पलायन भएको अवस्थामा अटो मेकानिक्स क्षेत्रले हजारौलाई रोजगारी प्रदान गरिरहेको र आगामी दिनमा आत्म सम्मानका साथ युवाहरु यो क्षेत्रमा लाग्ने वातावरण निर्माणका लागि सरकारले सहयोग गर्ने बताए । 

उनले यो क्षेत्रमा लाग्ने दक्ष जनशक्तिको आँकलन गरी त्यस्ता जनशक्ति उत्पादनका लागि आवश्यक योजना निर्माण गर्ने प्रतिवद्धता ब्यक्त गरे । अटो मेकानिक्सको रोजगारी र सहरको सुन्दरताका लागि सबै वर्कसप एकै स्थानमा उपलब्ध ‘अटोल्यान्ड’ आवश्यक भएको र यसका लागि स्थानीय निकायसँग समन्वय गर्नका लागि सरकारले सहयोग गर्ने प्रतिवद्धता समेत ब्यक्त गरे । 

नेपाल अटो मेकानिक्स व्यवसायी महासंघका अध्यक्ष यामप्रसाद भुसालले महासंघको नारा नै ‘प्रत्येक सहरमा सुविधासम्पन्न अटोल्यान्ड’ भएको बताउदै सरकार र व्यवसायी मिलेर यसका लागि विभिन्न क्षेत्रमा सम्भाव्यता अध्ययन गरी त्यसै अनुरुप अगाडि बढ्नु पर्ने बताए । 


Back_to_top