धौलागिरी यातायातमा आवद्ध बसको टिकट अनलाईनबाटै किन्न सकिने

काठमाडौ । प्रदेश नं. ४ स्थित धौलागिरी यातायात समितिका बसमा टिकट काट्न अब काउन्टर धाउन नपर्ने भएको छ । धौलागिरी यातायातको शनिबार बाग्लुङ बजारमा भएको २० औँ साधारण सभाले अनलाइनबाट टिकट विक्री गर्ने प्रस्ताव पारित गरेसँगै अनलाईन टिकट बिक्री खुल्ला भएको हो । 

अब पोखरा, पर्वत, बाग्लुङ तथा मुस्ताङसम्म जाने यात्रुहरूले अनलाईनबाटै टिकट काट्न सक्ने छन् । धौलागिरी यातायातले बससेवा डटकमसँगको सहकार्यमा अनलाइन टिकट विक्री सुरू गरेको हो । 

साधारण सभामा बोल्दै संस्थाका अध्यक्ष उमेश केसीले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाएर यात्रुलाई थप सुविधा दिने उद्देश्यले अनलाइन टिकटिङ सुरू गरेको बताए । 

अब यात्रुहरूले धौलागिरी यातायातको मोबाइल एप्स तथा बससेवा डटकम, इसेवा डटकम डट एनपीबाट सहजै अनलाइन टिकट काट्न सक्नेछन् । साथै आईएमई पे, ई–प्रभु, इन्टरनेट तथा मोबाईल बैंकिङ, ई–नेटलगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिनेछ ।


Back_to_top