काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले हाइड्रोजन पावर गाडीको आयातमा प्रष्ट हुन अर्थमन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् ।
आइतबार संसदमा विनियोजन विधेयक माथिको छलफलमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङदेनले ऊर्जा विकाससँगै हाइड्रोजनमा केन्द्रित हुन सरकारलाई सुझाव दिएका हुन् ।
उनले हाइड्रोजनको उत्पादन र प्रयोग बढाउन त्यसबाट चल्ने सवारीसाधनलाई विद्युतीय सरह करमा आयात गर्न दिन आग्रह गरे ।
‘अहिले बिजुलीको प्रयोग बढाउन ईभी आयातमा कर छुट दिइएको छ । हामी कहाँ ईभीसँगै हाइड्रोजनको प्रयोग बढाउन आवश्यक छ । त्यसको लागि ईभी सरह करमा हाइड्रोजन कार ल्याउने बाटो खोल्नु पर्छ । त्यसको लागि सरकारले सहजै निर्णय लिन सक्छ,’ अध्यक्ष लिङदेनले भने ।


